समर्पण रम्जान

२८ जुलाई २०२२ ! साउदी अरबको रियादस्थित Obeid Care Hospital मा करिब तीन महिनादेखि आइसियुमा रहेर उपचाररत अरूण कुमार रायलाई नेपाली दूतावास रियादको अनुकरणीय सहयोगमा यही २७ जुलाई २०२२ का दिन नेपाल नेपाल पठाइएको छ ।
नेपाल घर सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं. ०७ स्थायी ठेगाना भएका अरूण कुमार राय (राहदानी नं. ०९२५४०९८) लाई गत फेब्रुअरी २०२२ मा ड्यूटी सकाएर कोठामा फर्किदै गर्दै अचानक मस्तिष्क घात भई उहाँ चढेको गाडीको सिटमै ढलेपछि रायलाई उनको कम्पनीले रियादको Obeid Hospital मा तीन महिनादेखि ICU मा राखेर उपचार गराउदै आएको थियो
करीब तीन महिनासम्म ICU मा राखेर उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएपछि उनलाई जनरल वार्डमा सारिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा उनको स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई दूतावास रियादले यथाशीघ्र नेपाल पठाउने प्रकृया प्रारम्भ गरि २७ जुलाइका दिन एयरलाइन्सको उडानबाट नेपाल पठाएको छ ।
उनको उपचारमा झण्डै ७ लाख साउदी रियाल खर्च भएको र जसमध्ये स्वास्थ्य वीमाले ५ लाख साउदी रियाल मात्रै कभर गरेको र बाँकी झण्डै २ लाख साउदी रियाल कम्पनीले तिरेको थियो ।
निज अरूण कुमार रायलाई नेपाल पठाउने सिलसिलामा राजदूतावासले यहाँको अस्पताल र कम्पनीसँग निरन्तर सम्पर्क, समन्वय एवम् फलोअप गर्नुको साथै, नेपालमा रहनु भएका बिरामीको परिवार, पराराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक सम्पर्क, समन्वय एवम् फलोअप गर्दै आएको थियो ।
फलस्वरूप अरूण कुमार रायलाई नेपाल पठाउन सफल भएको छ भने यस कार्यमा प्रत्यक्ष एवम् परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई दूतावास रियादले आभार व्यक्त गरेको छ ।