
बस्छन् मनैमा हरि
(शार्दूलविक्रीडित छन्द)
१.
आहा सुन्दरता विशेष लयको देखिन्छ मुस्कानमा
बास्ना मग्मग फैलने कुसुमको भेटिन्छ उद्यानमा
आँखामा अनुरागपूर्ण कविता लेखिन्छ रागात्मक
पाखामा हरिया लता र लहरा छन् धेर भावात्मक
२.
पानी सिम्सिम बर्सिएर नभमा झुम्मी बसे बादल
आँखामा ममता समुत्सुक कला काला थिए गाजल
इच्छा भेट हुने थियोे अतलमा उद्वेगमा खुल्दुली
यात्रामा अनुभाव भाव सुकिला, चढ्ने सकेमा चुली
३.
स्रष्टाको छ मुहारमा मखमली मायाँ खुलेको पल
द्रष्टा प्रेमिल छन् असाध्य सुखका ताना बुनी झल्मल
अर्काको उपकारको मत मिल्यो, सौजन्यमा सार्थक
भाषा मेलमिलापको छ गहिरो, लाग्ने अनेकार्थक
४.
जो संकेत सशक्त धार कविता लेख्छन् रमाई कवि
स्वेच्छामा शुभदा सदा विनयमा उक्ले उकालो छवि
गर्ने आर्जन कीर्तिपूर्ण कविता लेख्ने कलापारखी
पाएका अनमोल छन् हृदयमा साक्षी बनेकी सखी
५.
गर्दैछिन् नखरा म पढ्छु कखरा यो प्रेम जम्मै भनी
छायाँमा सविता उजागर गरिन्, सौन्दर्यमा जीवनी
जिब्रो, ओठ चलाउँदै गजबले निम्त्याउँछिन् किन्नरी
इच्छा सार्थक सोचसाथ गहिरो बस्छन् मनैमा हरि।
अविचल आस्था मणि
छाङ, म्याग्दे, तनहुँ, गण्डकी प्रदेश, नेपाल ।

