
पहिरोले नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिबाट पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
अहिले पहिरो पञ्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। उनका अनुसार पहिरो पन्छाउने समय लाग्ने देखिएको छ।
मनसुन भित्रिएसँगै नारायणगढ–मुग्लिन सडकमा पहिरो जान थालेको छ। जसले गर्दा पटकपटक सडक अवरुद्ध भएको छ।
त्यस्तै, गए रातिको बाढीले मेलम्ची-हेलम्बु तथा मेलम्ची-पाँचपोखरी सडक अवरुद्ध भएको छ। गतवर्ष आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति भएको हो।
मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ।
त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ। अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ। जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन्।

