‘धमिराहरू’ – कविता

  • २३ जेष्ठ २०७९, सोमबार २०:५८ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन

    कमिला जस्तै देखिन्छन्
    यी धमिराहरू
    कहिले
    जङ्गलमा देखिन्छन्
    कहिले गाउँघरमा
    आफ्नै
    घर बनाएर बस्छन्
    भित्रभित्रै
    सिध्याउने खेलमा
    अहोरात्र खटिएका छन्
    यी धमिराहरू !

    कहिले कतै यिनीहरू
    राता देखिन्छन्
    कहिले भने
    कतै सेता देखिन्छन्
    विभिन्न चरित्रमा
    आफ्नो अनेक किसिमका
    भूमिका निभाउँछन्
    यी छद्मभेषी धमिराहरू !

    यी अनौठा धमिराहरू
    कहिलेकाहीँ
    जमिनमुनि घर बनाउँछन्
    कहिले भने
    जमिन बाहिर बनाउँछन्
    काठ, माटो र पानीको सम्पर्कमा
    आफ्नो घर
    अर्थात् गोला बनाउँछन्
    मुख्यतः
    वर्षा यामको अन्ततिर
    घरको निर्माण
    अनि बिस्तार गर्छन् !

    यी धमिराहरू
    आफ्नै फरक दुनियाँमा
    जो घरमा बस्छन्
    त्यो घर
    जहाँ राता धमिराहरू
    मालिक जस्तै
    बस्छन् अनि रमाउँछन्
    तर
    सेता धमिराहरू
    जो कामदार जस्तै
    काम गर्छन्
    अर्थात्
    घर मात्रै बनाउँछन् !

    आवश्यकताअनुसार
    यी सेता धमिराहरू
    विभिन्न स्वरूपमा
    विभिन्न आकार दिएर
    घर बनाउँछन्
    आखिरर जीवनभरि
    त्यसरी नै रमाउँछन् !

    विभिन्न चलखेलमा
    यिनीहरू व्यस्त देखिन्छन्
    वनमा हुँदा
    वनकै बिनास गर्छन्
    अनि
    गाउँघरमा हुँदाको बखत
    घरमा बिनास गर्छन्
    गृह प्रवेश गरेपश्चात
    सारा घरकै
    सत्यानास गर्छन्
    र रमाउँछन्
    यी धमिराहरू !

    यी धमिराहरू
    आखिर किरा न हुन्
    किराको जीवनचक्र जस्तै
    यी धमिरारूको पनि
    जीवन चक्र छ
    फुलबाट लार्भा
    त्यस्तै लार्भाबाट प्युपा
    र प्युपाबाट बयस्क बन्छन्
    अनि बुढो अवस्थामा
    यी धमिराहरू
    पखेटा निस्केपछि उड्छन्
    कहिले कतै
    छिचमिराको नामले
    कहिले कतै
    धान पुतलीको नामले
    पानी नपरेको दिन
    गोधूलिमा
    घरबाट बाहिर निस्कन्छन्
    र कल्पनाको गगनमा
    सुन्दर जीवनको
    अनुपम उडान भर्छन् !

    Leave a Reply