
दाङको चौघेरामा अवस्थित गोरखनाथ वैदिक ग्रुरुकुलले नि:शुल्क पिउने पानी वितरण गरेको छ । गुरुकुलले सोही ठाउँमा रहेको मतदान स्थलका मतदाताहरूलाई पानी पिलाउने कार्य गरेको हो ।
दिउँसाेकाे टण्टलापुर घाममा मतदान हेतु लाइन बसेका प्यासले आकुलव्याकुल मतदाताहरूलाई घाेराही उप-महानगर पालिका वडा नं १७ काे चाैघेरा सिद्ध रत्ननाथ मठमा संचालित दाङकै एकमात्र वैदिक गुरुकुलका वटुकहरूले पानी पिलाएर तृप्त बनाएका थिए ।

उपस्थित मतदाताहरूले गुरुकुलको उक्त सामाजिक कार्यको प्रशंसा गर्नुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा यस अघि कुनै गुरुकुल थिएन । पछिल्लाे समय याे गुरुकुल खुलेयता विविध गतिविधि र क्रियाकलाप गर्दै आएको छ ।

केवल किताबी कोरा ज्ञान मात्र नदिई सामाजिक र व्यवहार उपयोगी काममा वटुकहरूलाई लगाएर चर्चामा रहेको यो गुरुकुलको भावी लक्ष्य यसलाई ज्ञान केन्द्र र ध्यान केन्द्रकाे रुपमा विकास गर्ने रहेको गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराई जानकारी दिनुभयो ।
साथै उहाँले गुरुकुललाई नाथ दर्शनकाे अध्ययन तथा अनुसन्धान केन्द्र बनाउदै पहिलो चरणमा कक्षा ११ तहसम्म पुर्याउने योजना रहेको बताउनुभयो ।

