
साताका तीन लघुकथाको सातौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (धर्मपथ, खच्चडहरू र छोरा भर्सेज छोरी) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : धर्मपथ

✍️ बाबुराम न्यौपाने “उत्स”
विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय संघ संस्थाको संयुक्त प्रयासमा विश्व सर्व धर्मसभाको भव्य आयोजना गरिएको थियो। सभाहल झकिझकाउ थियो।
विश्वभरका प्रखर विद्वान विदुषीको उल्लेख्य उपस्थिति थियो। विश्व राजनीतिका हस्तिहरू पनि आमन्त्रित थिए।
सम्मेलनमा ठूलाठूला बहस भए। अनेक सिद्धान्तहरू प्रस्तुत गरिए । हलभित्र सर्वसाधारणको पङ्तीमा एक वृद्ध महिला पनि सहभागी थिइन्।
उनले कार्यक्रमको सवै वस्तुस्थिति खुब ध्यान दिएर नियालिरहेकी थिइन्। उनले कार्यक्रमको अन्त्यतिर उठेर भनिन्।
“मैले तपाईं विद्वानहरूका कुरा सुरूबाटै सुनिरहेकी छु। म सामान्य नारीको कुरा मान्नुहुन्छ भने मसँग हिड्नुहोस्। म जीवन्त धर्मको परिभाषा सप्रमाण देखाउँने छु ।”
सभाहल क्षणभर नि:शब्द बन्यो।
फेरि केहीबेरको छलफलपछि दुईदर्जन शिर्ष प्रतिनिधि ती वृद्धनारीसँग हिडे।
वृद्धाले सवैलाई करिब दस किलोमिटर टाढा चिटिक्कको सानो घरमा पुर्याइन्।
घरभित्र दुई वृद्ध वृद्धा ओछ्यानमा लम्पसार थिए। ती नारीले विद्वानहरुलाई बताउँदै गइन्।
“पति हिन्दु र पत्नी क्रिश्चियन हुन् । छोराले मुसलमान केटी विवाह गरेकोमा दुवै बाबु आमा रुष्ट थिए। तर यिनका छोरा बुहारी तीन वर्षदेखि हिड्डुल गर्न नसक्ने बाबु आमाको स्याहारमा रातदिन खटिरहेका छन्। यिनीहरू धर्म गर्दैछन् कि पाप ! मानवता र सेवाभन्दा महान् अर्को कुनै ठूलो धर्म छ ? निष्कर्ष तपाईंहरुको।”
दुबै बिरामी भावुक भए। उनीहरू आँखाबाट बर्बर आँसु खसालेर भक्कानिए। केही बोल्न खोज्दै थिए । गला अवरुद्ध भएर फिटि्क्कै बोल्न सकेनन् ।
विद्वानहरूको नजर कोठाको भित्ताको तस्बिरमा पर्यो। सबैको नजर लाजले झुक्यो। भित्तामा लहरै हिन्दु, मुस्लिम, सिख, इसाई, बौद्ध आदि धर्मका प्रवर्तकहरूको तस्बिर राखिएको थियो। छेउको दराजमा गीता, बाइबल, कुरान, त्रिपिटक जस्ता धार्मिक पुस्तकहरूले कोठाको शोभा बढाएका थिए।”
सबैले एकस्वरमा भने। “आमा ! हामी भ्रमबाट मुक्त भयौँ। हाम्रो एकाङ्की अहङ्कार खरानी भयो। हामीले धर्मपथको गन्तव्य भेट्यौँ।”
दम्भको बादलले ढाकिएको हाम्रो तेस्रो आँखा खुल्यो।”
दमक, झापा
[२] लघुकथा : खच्चडहरु

✍️ छविलाल खड्का
नयाँ प्रजाति । घाेडी र गधाकाे अन्तरजातिय समागमबाट जन्मिएकाे नयाँ वर्णशङ्कर अर्थात खच्चड । सुरो, बिन्ठ्याहा र धूर्त यसका विशेषता ।
दुर्गम ठाउँका यातायातका साधन । मालिकका अन्नदाता । सिरिफ यहीँ एउटा जुनी मात्र । यिनीबाट न सन्तान उत्पादन न भविष्यकाे चिन्ता । अर्काकाे लागि भारी बाेकिदिनु, धर्म र कर्म दुवै ।
भारी बाेकेर लामबद्ध रुपमा शीरमा चाैरी फुर्का, घाँटीमा घण्टी र निधारमा शृङ्गारिक ऐनामा सजिएकाे अगुवा खच्चड अघि अघि र लावालस्कर अन्य खच्चडहरू पछि पछि । याे नै दिनचर्या ।
दिन दैनिकी रुपमा भारी बाेक्दा पनि ग्वालाले पिट्ने, गाली गर्ने र छुद्र व्यवहारले गर्दा खच्चडहरूमा विद्राेहकाे साेच आयाे । एक साँझ सल्लाह गरेर राती भागे । भाग्दै भाग्दै जाँदा पाँच महिनापछि अनाैठाे ठाउँ पुगे । जताततै घरैघर । ग्वाला नै ग्वाला । टाँटाँ र टुँटुँ… । अचम्म माने । याे स्वर्ग हाे कि नर्क ? अलमल्लमा परे ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मालिककाे स्तुतीकाे तावेदारीमा चर्काचर्की र घम्साघम्सी चलिरहेकाे थियाे । यसै त सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीहरू हैरान थिए । झन् खच्चडहरू दाैड्दै भित्र पस्न खाेज्दा रिसले आगाे भएकाे डण्ठे लखेट्दै, भन्दै थियाे – “यत्ती धेरै दुई खुट्टे खच्चडहरू भित्र हुँदाहुँदै फेरि कहाँबाट मुन्टिए यी चार खुट्टे खच्चडहरू !”
काेहलपुर, बाँके
[३] लघुकथा : छोरा भर्सेज छोरी

✍️ दुर्गा वनवासी
त्यो परिवार असल लाग्थ्यो, हामी आमाछोरालाई | उनीहरूले पनि परिवारकै सदस्यलाई जस्तो माया र रेखदेख गरेका थिए | हाम्रो पनि यो संसारमा अरू आफन्त नै को पो थियो र ? रगतको र जातियताकाे नाता मात्रै कहाँ आफ्नो हुने रहेछ र ? विशेष घरमूली आमा असाध्य जाति र दयालु थिइन् | म जन्मिदाँ त झन् धेरै स्याहार गरेकी रे उनले, मेरी आमा र मेरो |
समय राम्रै बितिरहेको थियो | एकदिन केही मानिसहरू आए र आमालाई लिएर गए | मैले पनि सँगै जान बल गरेँ, जान दिएनन् | रोएँ, कराएँ तर मेरा आँसुले पग्लिएनन् कोही | आमाले पनि पछाडि फर्की फर्की हेरिन् मलाई | रोइन्, कराइन्, अनुनय गरिन् तर सुनेनन् | लगभग घिसार्दै लगे | आमा ओझेल परिन्, म रोइरहेँ |
साँझ घरमूली आमाले खान दिइन्, मलाई केही खान मन लागेन, आमाको मात्रै सम्झना आइरह्यो | घरमूली आमा पनि केही उदास थिइन् | घरमूली बासँग उनले मेरो अवस्थाबारे बताइन् | बाले भने – “पिर नगर, केही दिनमा बिर्सिन्छ | के गर्नु छोरी भएको भए सँगै पठाइदिन हुन्थ्यो, छोरो पर्यो | उनीहरूले लानै मानेनन्, जबर्जस्ती गर्न पनि भएन |”
केही दिनपछि घरमूली बा र आमाले कुरा गरेको सुनेँ | बा भन्दैथिए – “के गर्नु, नातिनीले घर भर्न लागे | पहिल्यै दुईटी छँदै थिए | गर्भ परीक्षणमा पनि छोरी नै रहिछे, फाल्दिनु भन्दिए |”
यो मान्छेको जात पनि कति विचित्रको हुँदो रहेछ गाँठे ? छोरो भएकोले मलाई आमाबाट छुटाए, छोरी भएकोले बुहारीको गर्भ फाल्न लगाए | हामी गाईवस्तुको चाहीँ छोरी चाहिने, मान्छेको चाहीँ छोरा नै हुनुपर्ने ? होइन, म त अलमल्ल परेँ त – छोरा राम्रो कि छोरी हँ ?
काठमाडौ

