साउदी अरबबाट रामकुमारको शव ल्याउन सरकारी पहल सुरू

  • २५ माघ २०७८, मंगलवार १६:५० मा प्रकाशित
  • धनकुटा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूको शव ल्याउन पहल सुरु भएको छ।चार महिनाअघि मृत्यु भएका लिम्बूको शव सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेशन (सिएमआइआर)को सहजीकरणमा वैदेशिक रोजगार बोर्डमार्फत ल्याउन पहल सुरु गरिएको धनकुटा नगरपालिकाअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका सूचना अधिकृत मञ्जु राईले बताइन्।‘लिम्बूको मृत्यु भएको लामो समय बितिसक्दा पनि शव ल्याउन कुनै प्रक्रिया सुरु भएको रहेनछ‚’ सूचना अधिकृत राईले भनिन्‚ ‘हामीले उनका श्रीमतीसँग कुरा गरेर आवश्यक डकुमेन्ट संकलन गरी सिएमआइआरको सहजीकरणमा नेपाली दूतावास साउदी अरबमा निवेदन पेश गरेका छौं।’ 

    केही दिनअघि थाहाखबर डटकममा ‘साउदीमा मृत्यु भएका पतिको शव कुर्दै विष्णुमाया’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। सूचना अधिकृत राईका अनुसार यसअघि वैदेशिक रोजगार बोर्डले दूतावासलाई सम्बोधन गरेर पत्र लेखे कुनै प्रक्रिया अघि बढेको रहेनछ। अन्य देशको हकमा मृत्यु भएको कम्तीमा पनि एक साताभित्र शव आउने भए पनि साउदी अरबको हकमा भने साढे दुईदेखि तीन महिनासम्म समय लाग्ने राईले बताइन्। तर‚ लिम्बूको मृत्यु भएको चार महिनाभन्दा बढी समय बितिसकेकाले सकभर छिटो शव आइपुग्ने उनको भनाइ छ।सूचना अधिकृत राईले भनिन्‚ ‘हामी निरन्तर फलोअपमा छौं। कम्पनीसँग पनि सम्पर्क भइसकेको छ।’ 

    ३९ वर्षीय लिम्बूको गत असोज २६ गते उपचारका क्रममा निधन भएको थियो। उनका श्रीमती विष्णुमायाका अनुसार उनी १८ वर्षदेखि साउदी अरबस्थित ‘एइड दहिम अल हामउड एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ’ कम्पनीमा  काम गर्दै आएका थिए। बाटोमा काम गरिरहेका बेला गाडी आउँदा साइड दिने क्रममा उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए।मृतकका श्रीमती र १४ वर्षीय एक छोरा छन्। उनीहरू अहिले मोरङको सुन्दरहरैचा नगरपालिका–६, गछियामा सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन। जीविकोपार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको विष्णुमायाले बताइन्।

    Leave a Reply