
घोराही चौघेरा स्थित गोरखनाथ वैदिक गुरुकुलमा ‘कुसुम रचना प्रतिभा पुरस्कार’ स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका १७ बेलभार निवासी डा.रचना घिमिरेले २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष खडा गरी उक्त पुरस्कारको स्थापना गर्नुभएको हो ।
सामाज सेवामा विशेष रुचि राख्नुहुने घिमिरेले आफ्नो जन्मदिनको अवसरमा आफ्नो मातापिता सहित गुरुकुलमा आयोजित कार्यक्रममा सरिक हुँदै उक्त अक्षयकोष रकम गुरुकुलकी प्राचार्य सन्तोषी सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियोे।
अक्षयकोष खडा गरेको सन्दर्भमा बोल्नु हुँदै अभिभावक सुषमा कुमारी रेग्मीले यसरी युवावर्ग समाजसेवा तर्फ प्रेरित हुनु अत्यन्त खुसीको कुरो भएको बताउनुभयो । साथै यस कार्यले युवा पिँढीमा उत्प्रेरकको कार्य गर्ने र समाजको उत्तरदायित्व बहन गर्न उनीहरू अग्रसर हुने बताउनुभयो।
साथै उहाँले गोरक्ष रत्ननाथ मठमा सञ्चालित दाङकै प्रतिष्ठाको रुपमा रहेको गोरखनाथ वैदिक गुरुकुललाई एक सक्षम गुरुकुल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा घिमिरे परिवारले गुरुकुलमा आवासीय रुपमा रहेका वटुकहरुका लागि खिर भण्डाराकाे पनि आयाेजना गरेको थियो ।
कार्यक्रममा वटुकहरूले स्वस्ति वाचन तथा भजन नृत्य प्रस्तुत गरेका थिए ।

गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदीकाे अध्यक्षतामा सञ्चालित भेलामा गुरुकुल समिति पदाधिकारीहरू, शिक्षकहरूकाे उपस्थिति रहेको थियाे भने कार्यक्रमको सहजीकरण गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएको थियो ।

