तोरी खेती जोन बन्दै ठोरी गाउँपालिका

  • ५ पुष २०७८, सोमबार ०५:५१ मा प्रकाशित
  • मेघराज राय जिराभवानी पुस ०४/

    विगतमा अवैध गाँजा खेतीले बदनामी कमाएको ठोरी गाउँपालिका अहिले तोरी खेतीले आफ्नो गुमेको साखलाई फर्काउने तयारीमा जुटेको छ ।
    अवैध गाँजा खेती नियन्त्रणमा प्रहरी प्रशासन जुटेसँगै विगत १० वर्षयता पर्सामा वैकल्पिक नगदे बालीको रुपमा ठोरीका किसानहरूले सुर्ती खेती र तोरी खेतीलाई अपनाएका छन् । हुन त गाँजा खेती र सुर्ति बालिले प्रवेश पाउनु भन्ला पहिले पनि उक्त क्षेत्र तोरी खेतीमा नै निर्भर थियो । गाँजा खेती विचमा केही बर्ष आएको हो । त्यसपछि पनि फाटफुट यहाँ फाटफु रुपमा गाँजा लगाउने र प्रहरीले फँडानी गर्ने हुँदै आएको छ । गाँजा लगाउन नपाउने भए पछि तोरी र सुर्ति खेती नगदे बालिको रुपमा पुनर्जिवित भएको हो । ठोरी क्षेत्रमा सूर्य टोबाको कम्पनीले सुर्ती खेती गर्न किसानहरूलाई मल, बिउ, दिएर प्रोत्साहित गर्दै आएको छ भने नगदे बालीको रुपमा रहेको तोरी खेती अझै पनि परम्परागतरुपमा नै छ । तोरी प्रसस्त हुने किसिमको माटो र हावापानी रहेको उक्त क्षेत्रमा उन्नत विधीबाट तोरी खेती गर्ने वा तोरीको हाइव्रिड विउविजन प्रयोग तर्फ किसानलाई कसैले पनि सीप नसिकाएको ठोरी५ सुबर्णपुर निवासी कृषक मनोज बस्नेतले बताउँछन् ।ठोरीका अधिकांश गाउँहरूमा अहिले तोरी फुलेर पहेलपुर छ । ठोरीको नयाँ बस्ती, सुन्दरबस्ती, ब्रह्मानगर, सुवर्णपुर, विजयबस्ती, रामनगर लगायतका क्षेत्रमा अहिले ठूलो परिणाममा तोरी खेती गरिएका छन् । उक्त क्षेत्रमा तोरीको फूल पहेंलै भएकोले यति बेला फोटो खिच्न एवं सेल्फी लिन पर्साको वीरगंज र भारतको नरकटियागंज देखि पर्याटकहरू आउने गरेको ठोरी–५का वडाअध्यक्ष रामबहादुर पाख्रीनले बताउनु भयो ।ठोरीका किसानहरू आय आर्जनमा तोरी खेतीले विशेष टेवा पुर्‍याउँदै आएको छ । गाँजा खेती भित्रनु भन्दा पहिले पनि यहाँका किसानहरुको बर्ष धान्ने नगदे बाली तोरी थियो । तिन ताका साहुसंग ऋण लिंदा समेत तोरीको समयमा तिर्ने वा तोरी व्याज तिर्छु भनि भाखा राख्ने चलन रहेको ठोरी गाउँपालिका वडा नम्बर ४ का बयोबृद्ध दोर्जे लामाले स्मरण गर्नुभयो । तोरी खेतीमा जङ्गली जनावरले समेत त्यति नोक्सानी नपुर्‍याउने र सिँचाइ पनि नचाहिने हुँदा ठोरीका किसानहरूले मुख्य बालीकै रुपमा तोरी खेती लगाउने गरेको ठोरी २ का वडाअध्यक्ष रामप्रकाश कुँवरले बताउनुभयो ।
    यस वर्ष ठोरीमा मात्रे झण्डै ३ हजार बिगाहामा तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

    Leave a Reply