
भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’ले बुधबार पुरुष टिमका लागि प्रशिक्षकमा पूर्वकप्तान राहुल द्रविडलाई नियुक्त गरेको छ । उनले सफल प्रशिक्षक रहेका रवि शास्त्रीको स्थान लिनेछन् । ट्वान्टी-२० विश्वकपछि द्रविडले भारतीय टिम सम्हाल्नेछन् ।
बोर्डका अध्यक्ष शौरभ गांगुलीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘द्रविडको खेल जीवन निकै उच्च रह्यो । क्रिकेटका एक महान भारतीय खेलाडीमा उनी पनि पर्छन् । प्रशिक्षकको भूमिकामा उनले यस्तै सफलता चुम्नेमा म आशावादी छु ।’
भारतले एक महिनापछि घरमा न्युजिल्यान्डविरुद्ध सिरिज खेल्दैछ र त्यसमा पहिलो पल्ट टिमको नेतृत्व गर्नेछन् । अहिले चलिरहेको ट्वान्टी-२० विश्वकपबाट शास्त्रीले भारतीय टिमबाट बिदाइ लिनेछन् ।
खेल जीवनमा एक शास्त्रीय शैलीका कारण प्रशिद्ध रहेका द्रविड ठोस सुरक्षात्मक खेलका लागि चर्चित थिए र यसक्रममा उनले मिस्टर डिपेन्डेबल उपनाम पनि पाएका थिए । उनी क्रिजमा टिकेर खेल्न माहिर थिए ।
उनले भारतका लागि १ सय ६४ टेस्ट खेल्दै १३ हजार २ सय ८८ रन बनाए । बोर्डले अहिलेसम्मको कामका लागि शास्त्रीलाई धन्यवाद पनि भनेको छ । सन् २०१७ मा उनी पहिलो पल्ट भारतीय टिमका प्रशिक्षक भएका थिए ।

