छठ पूजाको सबै तयारी पूरा, बेहुलीझै सिंगारियो वीरगंजका छठघाटहरु

  • २४ कार्तिक २०७८, बुधबार ०३:३१ मा प्रकाशित
  • वीरगंज, २३ कात्तिक ।
    जिल्लामा छठ पूजाको सबै तयारी पूरा भएको छ । जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गविरङ्गी पारी सजाइएको छ । वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । उहाँले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफू लागि परेको बताउनुभयो । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
    परिसरलाई रङ्गविरङ्गी बिजुली बत्ती तथा फूलमालाले सजाइएको समितिका सचिव क्रान्ति साहले जानकारी दिनुभयो । उहाँले घडिअर्वा पोखरीलाई सजाउन यस वर्ष रु १४ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताउनुभयो । करिब पाँच हजार व्रतालुले पूजा अराधाना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने घडिअर्वा पोखरीको छठघाटमा सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरिने आयोजकले जनाएको छ । पोखरी परिसरमा एम्बुलेन्स, बारुणयन्त्र र चिकित्सकको व्यवस्था गरिएको छ ।
    त्यसैगरी बिरगंज स्प्रिट क्लबले महापर्व छठको उपलक्ष्यमा बिरगंजको गिता मन्दिर रोडमा फुड फेस्टिबलको आयोजना गर्न लागेको छ । येहि कार्तिक २४ र २५ मा फेस्टिबलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओशन गुप्ताले जनाउनुभयो ।
    सो अवसरमा फेस्टिबल आयोजना हुने स्थल लगाएत विभिन्न ठाँउहरुमा पहिलो पटक रंगीचंगी छाता चंगासहित झिलिमिली बत्तीहरु प्रयोग गरी सजाइएको र खुला कन्सर्टसहित नि: शुल्क टिकट रहेको क्लबका अध्यक्ष गुप्ताले जनाए । (रासस)

    Leave a Reply