बुद्ध एयर ल्यान्डिङ गियर प्रकरण : जहाज ठिक, चालकदलमा शंका

  • १९ आश्विन २०७८, मंगलवार ०९:०९ मा प्रकाशित
  • काठमाडौं पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालकदलको कमजोरी देखाएको छ । बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्राविधिक त्रटि नरहेको जनाउँदै त्यस घटनामा चालक दलकै ‘व्यवहार’ मा शंका व्यक्त गरेको छ ।

    ‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालकदलले जहाजबारे ककपिटमा रहने पर्याप्त जानकारीका बाबजुद बाहिरी सूचनामा भर पर्नु नै घटनाको मुख्य कारण हो,’ छानबिन प्रतिवदेनपछि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    बुद्धको छानबिनले चालकदलले जहाजको ल्यान्डिङ गियर (पांग्रा) खुलेपनि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सोध्नुलाई यस घटनामा असान्दर्भिक भनेको छ । त्यसदिन चालकदलले विराटनगर अवतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटीसीलाई पनि पांग्रा खुले/नखुलेको ‘कन्फर्म’ गरीदिन बारम्बार सोधेका थिए । जहाजले आठ पटक काठमाडौंको आकाशमा फन्को लगाएपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गर्दै अवतरणका लागि अनुमति दिएको थियो ।

    त्यस्तै भुइँबाट खिचिएका तस्बिर पनि पाइलटलाई ह्वाट्सएपबाट पठाइएको थियो । बुद्धले एटीआर कम्पनीले जहाज उडानका क्रममा देखापर्ने विभिन्न प्राविधिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पर्याप्त जानकारीमूलक विधि तथा उपाय ककपिटमै राखिदिए पनि चालकदलले ती स्रोतमा भर नपरेको जनाएको छ ।

    आन्तरिक उडानमा जहाज र यात्रु संख्याका हिसाबले पहिलो नम्बरमा रहेको बुद्धले बरु आफ्नै चालक दलको ‘व्यवहार’ माथि पनि शंका व्यक्त गरेको छ । ‘हामी यस घटनाबाट धेरै नै स्तब्ध छौं । यो घटनामा मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं । हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं,’ विज्ञप्तिमा भनिएको छ । दुईवटा बीचक्राफ्ट र १३ वटा एटीआर गरी १५ वटा विमान भएको यस कम्पनीसँग १ सय ३० पाइलट छन् । बुद्धले हाल पेरिसमा सिम्युलेटर तालिका लागि गएका अपरेसन विभाग प्रमुख रञ्जनकुमार शर्मा र चिफ पाइलट सुनिल गुरुङ असोज अन्तिममा फर्केपछि यस घटनाबारे उनीहरुकै नेतृत्वमा थप विस्तृत अनुसन्धान पनि गर्ने जनाएको छ ।

    प्रबन्ध निर्देशक बस्नेतका अनुसार विराटनगरका लागि भएको यू४–७०१ उडानका कमान्डर क्याप्टेन आङगेलु शेर्पाले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने प्राइमेरी इन्डिकेटर (पहिलो संकेत) मा बत्ती नबलेको भनेपनि ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा कोपाइलट अमन अन्सारीले ‘संकेत बत्ती बलेको छ सर’ भनेको संवाद सुनिएको बताए । ‘कोपाइलटले संकेट बत्ती बलेको भनेको रेकर्ड सीभीआरमा सुनिन्छ । त्यसबाहेक सेकेन्डरी इन्डिकेटर (पाइलटको टाउकोमाथि राखिएको दोस्रो संकेत) ले पांग्रा खुलेको देखाएको छ । चालक दलले जहाज विराटनगरमा अवतरण गराउनुपर्थ्यो । झुक्किनुपर्ने कारण नै देखिदैन,’ कान्तिपुरसँग कुरा गर्दै प्रबन्ध निर्देशक बस्नेतले भने । साभार कान्तिपुर पत्रिका

    Leave a Reply