
बाढी पैह्रो विषयमा १३ साहित्यकारहरू द्वारा सिर्जना गरिएका उत्कृष्ट टुक्काहरू
१.
माइत जान हिँडेको बाटो घाटो बन्द,
बाढी आयो पैह्रो गयो बुद्धि भयो मन्द।
२.
वर्ष दिनको तिजमा एक्लै बस्नु पर्यो,
मेरै आँखाबाट पनि आँधी पानी झर्यो।
✍️ पौडेल विमुन्स, पाेखरा
१.
भदाैरे भेल बाढी पैह्राे अस्तव्यस्त छ सबै ठाऊँ,
ज्यान जाेगाउनै गाह्राे भयाे प्रभु अब कहाँ जाऊँ।
२..
कहाँ गल्ती भएछ खै दैवी प्रकाेप देखियाे,
अभागीकाे कर्म नै खाेटाे घरबार मेटियाे ।
✍️ ताराप्रसाद चापागाईं
१
बचाउँनुहोस् लौ न प्रभु राम, कृष्ण, शिव, बुद्ध,
तीजमा दिदी लिन हिँडेँ बाटो रैछ अवरुद्ध ।
२
के गर्नु र ? डाँडाबाट झर्छ ठूलो पहिरो,
सारा बस्ती बगरमा घाउ दियो गहिरो ।
३
आधा बाटो हिँडेपछि रोकियो नि मिनीबस,
वर्ष दिनको तीजमा चेलीबिना केको रस ?
✍️ श्रीकृष्ण शर्मा, पोखरा
१.
रात दिनको झरिले बाढी पैरो आयो,
गरिब दुःखी घरमा अनिकाल छायो।
२.
माइत जाने मन थियो ठूलो रहर,
चलेको छ बाटोमा पैह्रो झर्ने कहर।
✍️ सरस्वती श्रेष्ठ, इटहरी
१
पहिरो आएर सबै थुनेको छ बाटो ,
घरमै मान्ने तीज माइत जाने साटो।
२
पानी कति पर्छ कुन्नि सबैतिर बग्यो,
गोड्दै गरेको धान बाढी आएर लग्यो ।
३
पानी परेर सिम्सिमे भयो झरी,
काममा जानुपर्ने लौ कसो गरी। ।
✍️ भगवती दवाडी, दमक झापा
१.
कालाे मैलो जगतभरी दिउँसो नै सबै अन्धकार भयाे
गरिब,दु: खी निमुखाकाे तन मन,धन सबै उतै गयाे ।
२.
अाैकात भए राेकिदेऊ अाकाशबाट पानी झर्न
तर्दातर्दै बाढी अायाे बिचरा ती बाध्य भए मर्न ।
३.
बाढी अायाे अनि पहिराे पनि गयाे
हिड्दा हिड्दै बाटाे नै अबरुद्ध भयाे ।
✍️ लक्ष्मी घिमिरे दहाल, दमक -७ झापा
१.
कति जान्छ हरेक साल यो बाढी र पहिरो,
प्रकृतिका बारेमा कुरा बुझ्न साह्रै गहिरो ।
२.
वर्षा याम बाढी पहिरो हरेक वर्ष आउने,
भ्यागुतोले टर्र टर्र वाक्कलाग्दो गीत गाउने ।
३.
बाढी पहिरो आयो भने सारा समस्यामा हुन्छन्,
पानीको सतह बढेर घरकै दलिन छुन्छन् ।
✍️राजेशराज गड्तौला
रतुवामाई- १०, मोरंग, हाल- प्रवास
१.
मुशलधारे पानी पर्याे बग्याे ढुंगा माटाे ,
पुल भाँच्याे पहिरो झर्याे अबरुद्ध बाटाे ।
२.
माैषमकाे हेराफेरि हुन्छ कतिखेर ,
क्षणमै बादल मडारिन्छ फैलिएर ।
३.
खाेलानाला उर्लिएर बस्ती वारी अायाे ,
लीला रच्याे प्रकृतिले खेत बारी खायाे ।
✍️ रामकृष्ण दुवाडी, पाेखरा
१.
समय खराब छ आईरहन्छ बाढी पहिरो,
सरकार चुपचाप बस्दछ भएर बहिरो।
२.
सबै होसियारी भै बसौँ डुबाउला गाउँ बस्ती,
बाँचे संसार देखिन्छ गरौला पछि मोज मस्ती।
✍️ पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
१.
वर्षा याम हो पानी दिन दिनै परेको,
कतै जाऊँ भन्यो बाढी र पैह्रो झरेको ।
२.
गरिब दु:खी को टाउको लुकाउँने ठाउँ छैन,
राज्यको अाँखा पिडित सम्म कहिले पुग्या हैन।
३.
प्रकृतिले पनि जताततै बिगार्न किन घेरेको होला,
पह्रोले खेतबारी बगायो घरमा पस्यो खहरे खोला।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
१.
पोहोर साल टेकिएन माईती घरको माटो,
पहिरो आएर यसपाली नि पुर्यो भन्छन् बाटो।
२.
पोहोर तीजमा ह्वातै बढ्यो कोरोनाको कहर,
यो साल छेक्यो पहिरोले माईती जाने रहर।
३.
तीजमा माईत जाने बाटो छेक्यो बरै झरिले,
बिरहको गीत गाउन थाल्यो न्याउली चरिले।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ, हाल: गोदावारी, ललितपुर
१.
आमाको फोन आयो,आउँदैछ है भाई लिन,
कस्तो होला मौसम पनि माईत जाने दिन।
२.
भाईको बाटो हेरिबस्छु माईती जाने रहर,
शत्रु बनि बाटो छेक्न खोज्छ कोरोनाको कहर।
३.
सबै छोडी घरको लेठो, हाम्फालेर जाने,
जे पर्छ सोही टर्छ माईतीमा दर खाने।
✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी
१.
बाँकी केही छैन कि त केके भयो होला,
भीरको बाटो जानू छ बढ्यो निकै खोला।
२.
अामा छैनन् बाबा छैनन् दाइ अाउलान् लिन,
गाह्रो हुन्छ माईत जा भनेर मलाई बिदा दिन।
३.
हुन्छ ? बिदा दिनु दाजु सँगै जान्छु हास्दै हास्दै,
साह्रा दु:खु भुलि दिन्छु माईती अागन नाच्दै।
✍️ दुर्गा आचार्य, मोरङ
::::: जय टुक्का ! जय साहित्य !! :::::

