
दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको आज नर्भिक अस्पतालमा निधन भएको छ।
कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो। रक्तश्रावका कारण श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो। फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो।
बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले बताएपनि दुई दिनअघि उनको हालत खस्किँदै गएको र उपचारमा कठिनाई भइरहेको अस्पताल स्रोतले जनाएको थियो।
उपचारमा खटिएका डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून रहेको यसअघिनै बताइएको थियो।
तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन्। नर्भिकले उद्धार गरेपछि उनलाई सहयोग गर्नेहरुको समेत लर्को लागेको थियो। उनको परिवारजनले बनाएको अक्षयकोषमा लाखौं रुपैयाँ जम्मा भइसकेको जानकारीमा आएको थियो।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न घिमिरे भारत गएकी थिइन्। त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

