प्रकाश सपूत भन्छन्- पहिलेजस्तो हिट हुनलाई काम गर्दिनँ

  • २ भाद्र २०७८, बुधबार १६:३४ मा प्रकाशित
  • विवेक राई
    प्रकाश सपुतको पछिल्लो गीत ‘कुरा बुझ्न पर्च’ युट्युबमा अपलोड भएको बाह्र दिनसम्म ट्रेन्डिङ वानमै छ। उक्त गीत युट्युबमा ८२ लाख पटक हेरिएको छ।
    महिलाको आत्मसम्मान र अधिकारका विषयलाई उठाइएको उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको प्रकाश सुनाउँछन्। 
    ‘दर्शकहरूले गीतलाई समाज र विषयवस्तुसँग जोडेर हेर्न थाल्नुभएको छ। यो गीतमा पनि उहाँहरूले स्वस्तिमा र आँचल नाचेको मात्र हेर्नुभएन वा शान्तिश्री र समीक्षाको स्वरमात्र सुन्नुभएन। त्यसरी गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने। 
    खासमा यो गीत प्रकाशले दुई वर्षअगाडि नै फुराएका थिए।

    ‘कुरा बुझ्न पर्च, जसले माया गर्छ उसलाई जोवन खर्च’ भन्ने लाइन फुर्नासाथ उनले मोबाइलमा रेकर्ड गरेर राखेका थिए। यसपालि भने तीजको छेको पारेर त्यहीँ लाइनलाई तन्काएर उनले गीत पस्किएका हुन्। 
    ‘यो रमाइलो खालको गीत हो। दुई वर्षअगाडि नै एक लाइन मोबाइलमा रेकर्ड गरेको थिएँ। पछि त्यसलाई नै जोडेर महिलाहरूले आफ्ना लागि कस्ता श्रीमान् चाहन्छन् भन्ने भयो। त्यसरी नै सोचेर यो गीतको विषय छनोट गरें,’ उनले भने, ‘कुनै गीत गर्छु भनेर लागेपछि मेरो टाउकोमा त्यसलाई मात्र बोकेर हिँड्छु। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु। यो गीत गर्दा पनि मेरी सानी छोरीसँग धेरै समय बिताएको छु।’
    कुनै एउटा गीतमा यति धेरै घोत्लिने कारण उनी धेरै गीत गर्न भ्याउँदैनन्। आफूले ‘कुरा बुझ्न पर्च’ गीतका लागि पनि झन्डै दुई तीन महिना खर्चिएको उनी बताउँछन्। एउटै गीतमा धेरै समय खर्चिदा गुणस्तरमा निखरता आउने उनको भनाइ छ। त्यसले गर्दा पनि उनको गीतका विषय र प्रस्तुति सधै पृथक हुन्छन्। निर्देशनमा पनि उत्तिकै पारखी प्रकाश सकभर अघिल्लो गीतको प्रस्तुति पछिल्लो गीतमा नदोहोरियोस् भन्ने चाहन्छन्। यसअघि ‘मेरो पनि हैन र यो देश’ नामक गीतको प्रस्तुतिकरणको निकै तारिफ भएको थियो। 
    अहिले आफ्नो ध्याउन्न नै गीतलाई कसरी हरेक हिसाबले पृथक बनाउने भन्नेमा हुने प्रकाश बताउँछन्।

    एउटा समयसम्म ममा नामको भोक थियो। धेरै गम्भीर भएर सोचिदैनथ्यो। के चल्छ भन्नेमात्र हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला हिट हुनलाई काम गर्थें भने अहिलेचाहिँ हिटमात्र हुनलाई काम गर्दिनँ। अहिले जे काम गर्दा मज्जा लाग्छ, जे गर्दा आनन्द आउँछ, त्यो गर्छु।’
    उनले ‘गलबन्दी’ गीतपछि भने आफूले अन्तरआत्मादेखि चाहेअनुसार काम गर्न पाएको सुनाए। उनलाई धेरै दर्शकहरूले खोज्न थालेको पनि उक्त गीतपछि नै हो। अहिले भने कुनै पनि कुराले प्रभाव नपार्ने भन्दै उनले आफूभित्र अहिले कसरी राम्रो काम गर्ने भन्ने कुराको पागलपन रहेको जनाए।
    ‘मैले नामको भोकलाई पार गरिसकें। अब मलाई केही पनि कुराले प्रभाव पार्दैन। अहिले मभित्र कसरी राम्रो गर्ने भन्ने ‘म्याडनेस’ मात्र छ,’ उनले भने। 
    प्रकाश अहिले जसरी काम गरिरहेका छन्, त्यो काम उनी पहिल्यै गर्न चाहन्थे। तर त्यो बेला धेरै कुराहरूले साथ दिएको थिएन। गाउँबाट कलाकार बन्ने हुटहुटीले सहर छिरेका उनलाई पहिले जसरी पनि नाम चिनाउनु थियो। तर कसरी चिनाउने भन्ने उनलाई मेसो थिएन। यति हो कलाकार भएपछि सबैले चिन्नुपर्छ भन्ने दिमागमा थियो। त्यसैले जसरी हुन्छ उनी हिट हुनलाई अनेक अभ्यास गर्थे। 
    ‘त्यो बेला कलाकार भएपछि सबैले चिनोस् भन्ने थियो। त्यसैले टोपी लगाउँदा चल्छ कि, जिन्स पाइन्ट लगाउँदा चल्छ कि, राम्रो हिरोइनसँग खेल्दा चल्छ कि वा ब्याटल गर्दा चल्छ भन्ने थियो। त्यसैले एक समयसम्म त्यसरीमात्र काम गरियो,’ उनी भन्छन्, ‘चिन्न त मलाई ‘ब्याटल’ बाट धेरैले चिन्नुभयो तर अहिले आफ्नो चाहनाअनुसार समाजको कथाहरू भन्नमा काम गरिरहेको छु।’
    निम्न वर्गीय परिवारमा हुर्किएकाले होला प्रकाशलाई सानैदेखि समाजका कथाहरूले छुन्थ्यो। चाहे त्यो विभेदसँग जोडिएको होस् वा लैंगिक र सम्प्रदायसँग जोडिएका कुराहरू होस्। त्यहीँ सानोदेखि देखेको, भोगेको कुराहरूलाई उनले आफ्ना पछिल्लो सिर्जनाहरूको विषय बनाएका छन्। त्यसैको सिर्जना हुन् ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘मेरो पनि हैन र यो देश’ र ‘कुरा बुझ्नुपर्छ’ जस्ता गीतहरू। 
    प्रकाश आफैं पनि दलित समुदायमा जन्मिएकाले उनले विभेदका कुराहरू प्रत्यक्ष/अप्रत्यक्ष भोगेका छन्, देखेका छन्। यिनै कुराहरू नै उनका सिर्जनाका खुराक हुन्। उनलाई अब जातीय विभेदबारे पनि एउटा सिर्जना गर्न मन छ।
    ‘मलाई सबैभन्दा बढी आउने प्रश्न पनि यही नै हो। तँ आफू त्यही समुदायको भएर पहिलो कुरा त थर लेख्दैनस् भन्नुहुन्छ। आफ्नो समुदायको किन सम्बोधन नगरेको, किन त्योबारे गीतहरू नगाएको भनेर धेरै प्रश्न आउँछ। तर म उचित समय खोजिरहेको छु,’ उनले भने। 
    प्रकाशलाई यसबारे अलिक धेरै समय सोचेर, खर्चिएर राम्रो सिर्जना ल्याउनु छ। त्यसैले पनि उनी यसमा हतारो गर्ने सोचमा छैनन्। तर जसरी पनि यो विषयलाई आफ्नो सिर्जनामार्फत् बाहिर ल्याउने उनी बताउँछन्। 
    प्रकाशले भने, ‘ममा जतिबेला चेतना आयो, म त्यो बेला दश वर्षको थिएँ। अहिले म तीस वर्षको भएँ। यो विषय बीस वर्षसम्म नै मेरो दिमागमा छ। भनेपछि बीस वर्षसम्म सोचेको कुरा त केही राम्रै आउनुपर्यो नि। दुई महिना सोचेको गीत त यस्तो राम्रो भइरहेको छ भने बीस वर्षदेखि सोचेको कुरा त अझै राम्रो आउनुपर्‍यो नि भनेर उचित समय पर्खिरहेको छु।’
    प्रकाश जति पनि आफ्ना सिर्जनाहरू छन् ती सबै आफूले बाँचेको भोगाइहरू हुन् भन्ने ठान्छन्। आफू त्यो पृष्ठभूमिबाट नआएको भए जीवनका यतिधेरै रङहरू नै नदेख्ने उनी बताउँछन्।
    ‘मैले छिमेकी दाइले रोजीरोटीका लागि विदेशिएको नदेखेको भए, काठको बाकसमा फर्किएको नदेखेको भए ‘बोल माया’ नबन्न पनि सक्थ्यो। त्यस्तै मैले मेरो बुवाहरू, हजुरबुबाहरू भजन गाउँदा रातभरि घरको आँगनमा महिला पुरुषले दुःख सुख साटेको नदेखेको भए सायद गलबन्दी नजन्मिन पनि सक्थ्यो,’ उनले भने। 

    Leave a Reply