के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना?

  • २८ जेष्ठ २०७८, शुक्रबार ११:३५ मा प्रकाशित
  • काठमाडौं- ‘वैशाख १३ गते करिब मध्यरातमा मेरो जीवनमा एउटा यस्तो घटना घटेको छ। त्यो आज म उद्घाटित गर्दिनँ। तपाईंलाई संकेत मात्रै गर्छु। कुनै दिन नेपाली जनतालाई मैले बुझाउनु पर्छ। किनकि म यो देशको सार्वभौमसत्ता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहने छु भनेर शपथ लिएको पूर्वप्रधानमन्त्री हुँ। त्यसैले मसँग भएका जुन ‘इम्फरमेसन’हरु छन्, त्यसलाई मैले नेपाली जनतासमक्ष कुनै दिन बताउनुपर्छ।‘

    केही दिनअघि हिमालय टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम ‘यक्ष प्रश्न’मा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भनेका कुरा हुन्, यी। उनले घटनाको सन्दर्भलाई विस्तृतमा बताएका छैनन्। तर, केही संकेत भने गरेका छन्।

    उनले आफ्नो जीवनमा यस्ता अप्रत्यासित कुरा आएपछि देशलाई बचाउनुपर्छ भन्ने विशुद्ध र पवित्र आत्मा लिएर देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिकहाँ गएको बताएका छन्। वैशाख १३ गते घटना घटेको भए पनि प्रधानमन्त्रीलाई कहिले भेटेको हो, उनले स्पष्ट पारेका छैनन्। उनी वैशाख १६ गते भने न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रियाको लागि वीर अस्पताल भर्ना भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १९ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेकी थिइन्।

    अन्तर्वार्तामा भट्टराईले ‘देशलाई बचाउनुपर्छ’, ‘केही गम्भीर कदम चाल्नुपर्छ’, ‘राष्ट्रिय सहमतिको सरकार’, ‘केपी ओली जस्ता खलपात्रलाई बिदा गरेर देशको राष्ट्रिय स्वाधिनता बचाउने, लोकतन्त्र र संविधानको रक्षा गर्नको निम्ति’, ‘हामीले यो उपलब्धिको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ’ जस्ता शब्द र वाक्य प्रयोग गरेका छन्। ‘देशमा भएको यो व्यवस्था उल्ट्याउनका निम्ति भित्री र बाहिरी तत्वहरुको ठूलो ‘ग्रान्डडिजाइन’ अन्तर्गत, ठूलो षडयन्त्र अन्तर्गत यो कदम चालिँदैछ। पुस ५ गतेदेखि जेठ ७ गते मध्यरातसम्म जुन परिघटनाहरु भए यो ठूलो नाटकको परिदृश्यहरु हुन्। नेपालका सबै राज्यका अंगहरु छन्, यहाँका अदालत, प्रशासन, सुरक्षा अंग, आर्थिक अंगहरुलाई भताभुंग पार्ने र देशलाई बर्बादीतिर लिएर जाने जुन डिजाइन अन्तर्गत यो खेल भइरहेको छ’, उनको भनाइ छ।

    के भयो १३ गते मध्यरातमा?
    अन्तर्वार्तामा भट्टराईले आफूलाई प्राप्त सूचना प्रधानमन्त्री केपी शर्मा ओली लगायत आफ्नो पार्टीका जिम्मेवार नेताहरु र अरु पार्टीका पनि जिम्मेवार नेताहरुलाई भनेको बताएका छन्। हाम्रो टिमले प्रधानमन्त्री ओलीबाहेक भट्टराईले सूचना सम्प्रेषण गरेका केही सम्भावित नेताहरुसँग सम्पर्क गरेको थियो। तीमध्ये भट्टराईको ‘ब्रिफिङ’ सुनेका कतिपयले सांकेतिक रुपमा र कतिपयले अलि प्रष्टसँग यो विषय खुलाए।

    वैशाख १३ गते भट्टराईलाई केही भारतीय उच्च व्यक्तिहरुले भेटेको उनीहरुको दाबी छ। कतिपयको भनाइ अनुसार ती व्यक्तिमध्ये केही राजनीतिक पृष्ठभूमिका थिए। तर, धेरैजसोको दाबीमा ती भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का व्यक्ति थिए। पुस ५ वरिपरिदेखि काठमाडौंमा रअ र आरएसएसका मान्छेहरुको सक्रियता बढेको सुरक्षा निकायहरुको सूचना र विश्लेषण रहेकाले ती व्यक्ति रअकै हुनसक्ने आकलन उनीहरुको छ। उनीहरुले भट्टराईसँग धम्कीपूर्ण भाषामा कुरा गरेको बताइएको छ। ‘ती व्यक्तिले मुख्यतः संविधानले संस्थागत गरेका कतिपय विषयहरुलाई विस्थापित गर्न थालिएकोले सके सहयोग गर्न, नसके मौन बस्न तर, अवरोध नगर्न धम्कीपूर्ण चेतावनी दिएका थिए’, यो घटनाबारे जानकार एक नेताले बताए।

    वैशाख १३ गते राति ती व्यक्तिले निश्चित योजना अन्तर्गत घटनाक्रमहरु विकसित भइरहेको पनि भट्टराईलाई बताएका थिए। उनले अघिल्लो वर्ष वैशाखमा ल्याइएको अध्यादेश, पुस ५ को कदम, नेकपाभित्रको विग्रह र अदालतबाट फागुन २३ गते भएको फैसला समेतलाई संकेत गर्दै फेरि संसद् विघटन गरिने बताएका थिए। ‘अब फेरि संसद् विघटन हुन्छ। र, अदालतबाट पनि सदर हुन्छ। चुनाव गराउने-गराउने भन्ने हो। तर, त्यो चुनाव हुँदैन। कोरोनाले रोक्न सम्भव भयो भने त्यही कारणले रोकिन्छ। नभए, अरु केही कारण सिर्जना गरिन्छ। र, आउने फागुनसम्ममा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका कुराहरु फालिने स्पष्ट भइसक्छ‘, उनको भनाइ थियो।

    ती व्यक्तिको बढी जोड भने संघीयता र गणतन्त्र फाल्ने तथा ‘सेरेमोनियल मोनार्की’ र हिन्दूराष्ट्र कायम हुने कुरामा रहेको बताइएको छ। यही योजना अन्तर्गत ओली, राप्रपा, जसपाको एक पक्षको गठबन्धन बनाइने उनले बताएका थिए। गठबन्धनको अझ विस्तारित रुप सुनाउँदै उनले भनेका थिए- ‘सिके राउतदेखि विप्लवसम्म त्यसै मूलधारमा आएका होइनन्।‘

    भट्टराईले प्रधानमन्त्री ओलीलाई तिनै ‘विषय’ ब्रिफिङ गरेको बताइएको छ। यसबीचमा एकरात भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको चर्चा चलेको थियो। मध्यरातमा सत्ताको सौदाबाजी गर्न भट्टराई बालुवाटार पुगेको भन्ने निकै चर्चा भएपछि भट्टराई स्वयंले आफू बालुवाटार गएको स्वीकारेका तर, सत्ताको विषयमा कुरा गर्न भने नगएको प्रष्ट पारेका थिए।

    तर, ओलीले भने त्यो (मूलतः भारतीयहरुको) योजना अनुसार काम नगरेको दाबी गरेका थिए। ‘तपाईंले भने जस्तो मलाई भारतीयले चलाएको छैन। बरु मैले उनीहरूलाई चलाउने हो। तपाईंहरुलाई भारतले ओलीलाई चलाइरहेको छ भन्ने लागेको होला, त्यस्तो होइन’, ओलीको भनाइ थियो।

    ओलीले संसद् विघटन गरे पनि चुनाव हुने बताएका थिए। ‘त्यस्तो ‘पोलिटिकल भ्याकुम’ हुँदैन। सबै पहिलेकै स्थितिमा रहन्छ। राष्ट्रिय सहमतिको सरकार बनाउने भए पनि मेरै नेतृत्वमा बनाऔँ न त। तपाईंहरु पनि सरकारमा आउनुस्‘, उनको भनाइ थियो। ओलीले एमालेकै दोस्रो तहका नेताको नेतृत्वमा समेत राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भट्टराईसँगको त्यो भेटमा बताएका थिए।

    बाबुरामको श्रृंखलाबद्ध संकेत
    आफ्नो सूचना प्रधानमन्त्रीलाई दिएपछि भने उल्टो प्रचार गरेको उनको भनाइ छ। भट्टराई बालुवाटारमा गएको प्रसंग ओलीनिकट नेता महेश बस्नेतले एक कार्यक्रममार्फत् सार्वजनिक गरेका थिए। तर, बस्नेतको भनाइ भने अर्कै थियो। ‘बाबुरामजी केपी ओलीलाई भेट्न राति १ बजे बालुवाटार जानुभयो। अहिले परिस्थिति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यक छ। राष्ट्रिय सहमतिको सरकारको नेतृत्व मैले लिनुपर्छ। म आफैं ६८ वर्षको भएँ। अब ७० वर्षसम्म राजनीति गर्ने चाहना हो। तपाईंले मेरो लागि पहल गरिदिनुस्। तपाईंबाहेक अरु कसैले गर्न सक्दैन। प्रचण्ड र शेरबहादुर देउवाको नाडी छामिसक्यौँ‘, उनले जेठ २ गते भनेका थिए।

    बस्नेतको भनाइ सार्वजनिक भएपछि भट्टराईले ट्विटरमार्फत् प्रतिवाद गरेका थिए। ‘प्रमले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्तिउन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन, प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ। सोचौँ’, उनको भनाइ थियो।

    वैशाख अन्त्यपछि भट्टराईले ओलीलाई हटाइहाल्नुपर्ने कुरामा जोड दिन थालेका छन्। उनको ट्विटर ‘टाइमलाइन’लाई फर्केर हेर्दा ‘वैशाख १३ गतेको घटना’ र ‘ओलीको प्रतिक्रिया’लाई संकेत पनि गरिरहेको आकलन गर्न सकिन्छ। वैशाख २७ गते गरेको ट्विटमा उनले ओलीलाई ‘आजै विदाइ गर्नुपर्ने प्रमुख ४ कारण’ उल्लेख गरेका छन्। त्यसदिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै थिए। जसमा दोस्रो र तेस्रो कारणमा भनिएको छ- ‘संविधान विपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको। संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको।’

    त्यस्तै जेठ ४ गते उनले लेखेका छन्- ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’ जेठ ६ मा उनले लेखेका छन्- ‘देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौँ। सबैले दलीय /निजी स्वार्थ त्यागेर जो जेमा सहमति हुन्छ धारा ७६(५) बाटै निकास दिऔँ!’

    ‘संसद्, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो! जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग/बलिदान गरौँ। लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ! आजै गरौं, अहिल्यै गरौं! बीपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ’, जेठ ७ गते उनले लेखेका छन्।

    जेठ ८ गते उनले लेखेका छन्- ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऔँ; प्रतिवाद गरौँ!’

    सोही दिन उनले जेठ ८ को ‘प्रतिक्रान्तिकारी हर्कत’ पुस ५ को भन्दा गम्भीर रहेको लेखेका छन्। त्यसको तीन कारण समेत उल्लेख गरेका छन्। जहाँ दोस्रो र तेस्रो कारणमा भनिएको छ- यो संसद् विघटन मात्र होइन, संविधान विघटन गर्ने गुरूयोजना अन्तर्गत छ। यसभित्र राष्ट्रघात छ, प्यादाहरू छन्!’

    जेठ २४ गते उनले गोरखा पुगेर समेत यस्तै आशयको भाषण गरेका थिए। उनले पटक–पटक संविधान मिचेर संसद् विघटन गर्ने प्रावधान कुल्चने काम भइरहेको र यसमा अदृश्य शक्तिसँग अस्वाभाविक किसिमको साँठगाँठ रहेको बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपाललाई डरलाग्दो अध्याँरो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार काम भइरहेको बताए।

    भट्टराईले जेठ १५ गते भारतीय पत्रिका ‘द हिन्दु’ मा एक संयुक्त लेख लेख्दै भारतले नेपालको संविधानलाई मार्गच्युत गर्दै देशलाई अन्त्यहीन संकटमा धकेल्न भारतले ओलीलाई सहयोग गरिरहेको बताएका थिए। ‘विशेषगरी नयाँदिल्लीको संस्थापनले नेपाललाई हिन्दु राज्यतर्फ तथा संघीयता समेत खारेज गर्ने दिशातर्फ मोडिरहेको छ’, लेखमा भनिएको छ।

    लेखमा ओलीसँग सहकार्यका लागि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई लोभ्याइएको वा बाध्य पारिएको बताइएको छ। यो पक्ष जेठ २१ गते सरकारमा सहभागी भइसकेका छन्।

    भट्टराईले प्रष्ट र सांकेतिक रुपमा राखिरहेको यो विषयमा अन्यले पनि आशंका गर्ने गरेका छन्। केही दिनअघि एमालेकै उपमहासचिव घनश्याम भुसालले पनि आफूलाई २०७७ वैशाखमा कोही नेताले भनेको भन्दै लेखेका थिए- ‘नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ। संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर, निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिने छ।’

    यो खबर नेपाल लाईभ का लागि बिरेन्द्र ओली ले लेखेका छन् !

    Leave a Reply