युरोकपका लागि बेल्जियमले घोषणा गर्‍यो टिम

  • ३ जेष्ठ २०७८, सोमबार १८:०० मा प्रकाशित
  • ३ जेठ काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबल प्रतियोगिताको लागि बेल्जियमको टिम घोषणा भएको छ । बेल्जियमले सोमबार २६ सदस्यीय टिम घोषणा गरेको हो ।
    कोरोना महामारीका कारण यस पटक युरोकपमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युईएफएले निर्णय गरिसकेको छ ।
    त्यसैले बेल्जियमले २६ जनाको टोली घोषणा गरेको हो । जसमा कप्तान इडेन हाजार्ड पनि अटाएका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी चोटबाट मुक्त हुँदै केही समयअघि मैदान फर्केका थिए । उनले च्याम्पियन्स लिगमा पूर्वक्लब चेल्सी विरुद्ध खेलेका थिए ।
    मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले घोषणा गरेको टिममा केही ‘सरप्राइज’ समेत छ । गोलकिपर कोएन कास्टिल्सको स्थानमा माट्ज सेल्स छन् । प्रशिक्षक मार्टिनेजले यसलाई मेडिकल निर्णय भनेका छन् ।
    टिममा ३ गोलकिपर ५ डिफेण्डर, ११ मिडफिल्डर र ७ जना फरवार्ड छन् । बेल्जियमले ११ जना स्ट्यानबाई खेलाडीको नाम समेत घोषणा गरेको छ ।
    समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्याण्ड र रसियासँग खेल्नेछ ।
    मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।
    युरोकप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

    Leave a Reply