फूटतिर एमाले, २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाए

  • २६ बैशाख २०७८, आईतवार ११:५० मा प्रकाशित

  • एमालेमा माधव नेपाल समूहका सांसदहरूले भाेलि नै राजीनामा दिने भएका छन् । एमाले केन्द्रीय सदस्य एवं सांसद विराेध खतिवडाका अनुसार केही सांसदले नेता नेपाललाई आजै राजीनामा पत्रमा हस्ताक्षर गरी बुझाएका छन् । ‘रातभर कुनै चमत्कार भएन भने भाेलिदेखि हामी पूर्वसांसद हुनेछाैँ’, खतिवडाले भने । उनका अनुसार २३ सांसदले राजीनामा दिएका छन् । याे राजीनामा संसद सचिवालयमा बुझाएपछि औपचारिक मानिने छ ।

    प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएर कांग्रेस, माओवादी र जसपाकाे एउटा पक्षबीच गठबन्धन भएकाे अवस्थामा ओली सरकार ढल्ने गणितका साथ माधव समूहले यस्ताे कदम चालेकाे हाे ।

    याेसँगै एमाले कानुनी रूपमै विभाजित हुने सम्भावना बढेकाे छ । माधव समूहका नेताहरूले विभाजन राेक्ने प्रयास लगभग समाप्त भएकाे बताएका छन् ।

    सांसद झपट रावलले एमाले एकता इतिहासकाे गम्भीर माेडमा आइपुगेको बताए । उनले भने, ‘अझै पनि मौका छ, पार्टी जोगाउने कि फरक मत राख्नेलाई निर्ममतापूर्वक कत्लेआम गर्ने ? यो पार्टी बिसर्जन गर्ने कि २०७५ जेठ २ अघिको साबिक एमालेमा फर्काउँदै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने ? अध्यक्ष कमरेड केपी शर्मा ओलीको हातमा छ।’

    एमाले पूर्ववत् अवस्थामा फर्किएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गरेका एकलौटी निर्णय फिर्ताको माग नेपाल समूहले राख्दै आएको छ । तर, ओली ती माग सम्बोधन गर्न तयार देखिएका छैनन् । हिजो र अस्ति ओली र नेपाल समूहका नेताहरूबीच छलफल भए पनि त्याे निचोडहीन बन्यो ।
    भोलि २७ वैशाखमा ओलीले संसदमा विश्वासको मत लिँदैछन् । माधव समूहका सांसदले राजीनामा दिए ओली त्यसमा असफल हुनेछन् ।

    Leave a Reply