
मुग्लिन, ३ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका कुनै पनि बिरामीले अब नि:शुल्क रगत पाउने भएका छन्। इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन बिच गाउँपालिकामा रहेका जुनसुकै बिरामीलाई रगतको आवश्यकता परेमा नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएपछी इच्छाकामनाका नागरिकले रगतको शुल्क तिर्न नपर्ने भएको हो। सो सम्बन्धी दुबै संस्था बिच बिहिवार सम्झौता भएको हो। सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कुमारी गुरुङ र रेडक्रसको तर्फबाट जिल्ला सभापति ज्ञानशाली न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचय पत्र वा सिफारिस पत्रको प्रतिलिपी भने बुझाउनु पर्नेछ। यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिका भन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुबिधा लिन पाउनेछ। सम्झौतामा उल्लेख भए अनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको नि:शुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ। यो संगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो। उक्त समाचार इच्छाकामना न्युज लए छापेको छ ।

