
भिनाजुबाट बलात्कृत भएकी ललितपुर गिम्दीकी १५ वर्षीया बालिकालाई घटनाबारे ‘चुप’ बस्न दिदीले दबाब दिएको खुलेको छ । लामो समयको परामर्शपछि पीडित बालिकाले घटना बारे प्रहरीलाई थप जानकारी दिएकी हुन् ।
पीडित बालिका गर्भवती समेत छिन् । प्रहरीका अनुसार उनको ७ हप्ताको गर्भ छ । महिनावारी रोकिएपछि पीडित बालिकाले दिदीलाई घटना बारे बताएकी थिईन् । तर, दिदीले गर्भपतन गराइदिने, पढाई दिने जस्ता प्रलोभन देखाएर घटना लुकाउन खोजेको पीडित बालिकाले बताएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बालिकाको ब्रेन वास गरिएको थियो । लामो समयको काउन्सेलिङपछि बोल्न मानिन् । बालिकाले समय लिएरै भए पनि साहस देखाइन् ।’ दिदीले घटना गुपचुप राख्न दबाब दिएपछि पीडित बालिकाले स्कूलका साथीसँग भिनाजुबाट आफू पटक/पटक बलात्कृत भएको र महिनावारी रोकिएको बताएकी थिईन् ।
पीडक बागमती गाउँपालिका–७ गिम्दीस्थित एक स्कूलका शिक्षक समेत हुन् । पीडित बालिका पनि सोही विद्यालयमा अध्ययनरत छिन् । त्यसपछि विद्यालयकै शिक्षक मार्फत प्रहरीलाई खबर पुग्यो । पीडित बालिका अहिले एक सामाजिक संस्थाको संरक्षणमा छिन् ।
एसएसपी बज्राचार्यका अनुसार ती बालिका ३ वर्षदेखि दिदी भिनाजुसँग बस्दै आएकी थिईन् । आरोपितलाई प्रहरीले गत फागुन २६ गते पक्राउ गरेको थियो । सोही दिन प्रहरीले बालिकाको उद्दार गरेको थियो ।
३२ वर्षीय पीडकविरुद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार पीडित बालिकाका बाबुआमा भारतमा बस्छन् । बालिका पनि तीन वर्षअघिसम्म भारतमा बाबुआमासँगै बस्थिन् ।

