नारायणी अस्पतालमा ५० वटा स्वाब परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि

  • ८ चैत्र २०७७, आईतवार २२:५६ मा प्रकाशित
  • messenger sharing button

    वीरगञ्ज, ८ चैत । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको कोरोनाभाइरस परिक्षणमा १० जना पोजेटिभ भेटिएका छन् ।

    विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ५० जनाको थ्रोट स्वाबको नमुनालाई नारायणी अस्पतालस्थित प्रयोगशाला पिसिआर प्रविधिबाट परिक्षण गर्दा २ जना महिलासहित थप १० जनामा सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

    लामो समयपछि अस्पतालमा गरिएको परिक्षणमा यति धेरै सङ्क्रमित भेटिएका हुन् । यसअघि अस्पतालले १ सय १५ जनासम्मको स्वाब परिक्षण गर्दा १ जनादेखि बढीमा ५ जनासम्म सङ्क्रमित भेटिने गरेका थिए ।

    छिमेकी राष्ट्र भारतका कयौँ क्षेत्रमा कोभिड सङ्क्रमितहरुको सङ्ख्या बढेको कारण पुन: लकडाउन भइरहेको बेला सिमावर्ती जिल्ला बारा र पर्सामा यसरी सङ्क्रमितको सङ्ख्या ह्वातै बढ्नुलाई धेरैले चिन्ताको विषय भनेर औल्याएका छन् ।

    केहि दिन अगाडी मात्रै नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले वीरगञ्जमा फरक किसिमको निमोनिया ज्वरोका विरामीहरु भेटिरहेको कारण सतर्कता अपनाउन सुझाव पनि दिएका थिए ।

    अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार भेटिएका १० जना सङ्क्रमितमध्ये ६ जना बारा जिल्लास्थित जितपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । सङ्क्रमितहरुमध्ये दुईजना वडा नम्बर ३ का बासिन्दा हुन् भने बाकी वडा नम्बर ३, ५, ८ र ९ को बासिन्दा हुन् । उनीहरुको उमेर समूह २० वर्षदेखि ३८ वर्ष रहेको डा. दासले बताए ।

    त्यसैगरी अन्य सङ्क्रमितहरुमध्ये दुईजना पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको बासिन्दा छन् । उनीहरु वीरगञ्जको वडा नम्बर १० र ३१ का बासिन्दा हुन् । त्यस्तै एकजना सङ्क्रमित झापाको मेचीनगर नगरपालिकाकाको वडा नम्बर १२ का बासिन्दा रहेका छन् ।

    भेतिका सङ्क्रमितहरुको सिटि भ्यालु २३ देखि ३५ सम्म रहेको डा. दासले जानकरी दिए ।ऑनलाइन खबर

    Leave a Reply