अमेरिकी रक्षामन्त्री अफगानिस्तानमा

  • ९ चैत्र २०७७, सोमबार ०१:४४ मा प्रकाशित
  • एजेन्सी । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिक रूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको आइतबार पेन्टागन स्रोतले जानकारी गराएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किन मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।
    अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको र यसको तयारीस्वरुप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको बुझिएको छ । 
    अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गर्नुभएको बताइएको छ ।
    अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए । 
    रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

    Leave a Reply