मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज देखी फेरि पानी भर्न थालेर परीक्षण सुरु

  • १० फाल्गुन २०७७, सोमबार २०:५६ मा प्रकाशित
  • मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज फेरि पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ ।

    खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण थालेको आयोजनाले बताएको छ ।

    खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व कानुन मन्त्री शेर बहादुर तामाङलगायतको टोलीले आज स्विच थिचेर पानी भर्न थालिएको हो ।

    आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको छ । गत असार २१ गतेबाट पानी परिक्षण सुरु गरेको आयोजनाले ३० गते १७ नम्बर गेट फुटेर परिक्षण स्थगित गरिएको थियो ।

    सो घटनामा दुई जनालाई खालाले बगाएको समेत थियो । दुई जना मध्ये एक जनाको शव फेला परेको छ भने एक जनाको शव शव अझै फेला परेको छैन ।

    आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोग अन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहान स्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ,” आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

    विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको निर्देशक खत्रीले बताउनुभयो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौँका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको छ ।

    कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।

    त्यस्तै पानी परीक्षणको शुभारम्भ गर्नुहुँदै मन्त्री थापाले पानी काठमाडौँ लगेर वितरण गर्न सकियो भने ठुलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आयोजनाको बारेमा आफुलाई खासै ज्ञान नभएको भन्नुहुँदै सचिव र इन्जिनियरहरूसँग समन्वय गरिरहेको बताउनुभयो ।

    पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभिको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

    करिब ३० बर्ष पहिले सुरु भएको मेलम्ची खानेपानी योजना अन्तर्गतको मुख्य सुरुङमा पानी भरेर सफलतापूर्वक परीक्षण सुरु गरिएको हो ।

    खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

    Leave a Reply