
रौतहट — रौतहटको चन्द्रपुर ८ का किसानहरुले मुआब्जाको रकम नपाएको भन्दै मेची-महाकाली रेल्वेको काम रोकेका छन् ।
मेची-महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै बिहीबार काम रोकेका हुन् । उक्त प्याकेज लामा गोल्डेन बिरुवा जेभीले ठेक्का सकार गरेको हो । जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम सुरु गरेपछि किसानहरु आक्रोशित छन् । केहीको एक महिनाअघि नै मालपोतलबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेको छ । तर हातमा एक पैसा पनि नपरेको किसान कृष्ण चौधरीले बताए ।
रेल्वेको नाममा पास भइसकेको लालपूर्जा बोकेर खेतमै उनीहरुले काम अवरोध गरेका थिए । ‘जग्गा पास भएकै दिन मुआब्जाको रकम पाइन्छ भन्यो । तर अहिलेसम्म हातमा एक पैसा परेको छैन,’ उनले भने,‘खेतमा धमाधम काम भइरहेको रहेछ । अब पैसा नपाएसम्म कामै हुन दिन्न ।’ उनको ८ कठ्ठा जग्गा रेल्वेमा परेको छ । समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए । अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ । त्यहाँ कुनै अप्रिय घटना हुन नदिन ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बिहानदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सन्तपुरका किसान लालवती तिमल्सिना मुआब्जाको रकम नपाएसम्म एक ईन्च पनि काम हुन नदिने बताउँछन् । ‘रेल्वेले सारै झुलायो । हेप्नेको पनि सीमा हुन्छ,’ उनले भने, ‘तपाईंहरुको पैसा यति दिनभित्र भुक्तानी हुन्छ भन्नेसमेत रेल्वेको कर्मचारी आउँदैनन् । ठेकेदारले रातारात काम थालीसक्यो । अब कुनै हालतमा काम हुन दिँदैनौं ।’
रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकारेका छन् । ‘किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो । अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,’ उनले भने,‘अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छौं ।’ उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे । कान्तिपुर समाचार ।

