महिला टिमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाल एसियन कपमा छनोट हुने अवसर छ

  • १४ फाल्गुन २०७७, शुक्रबार १२:३१ मा प्रकाशित
  • नेपाली महिला राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ का लागि  छनोट हुने राम्रो अवसर भएको बताएका छन्। 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियन नागरिक फिलिप्सलाई बिहीबार राष्ट्रिय महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको थियो। 

    नियुक्त भएपछि एन्फासँग कुरा गर्दै फिलिप्सले नेपालले सन् २०२३ मा भारतमा हुने महिला एसियन कप खेल्ने अवसर भएको बताए। 

    ‘मैले आफ्नो जिम्मेवारीलाई गम्भीर रुपमा लिएको छु। हामीसँग विकास गर्न राम्रो अवसर छ,’ उनले भने,’हामी एसियन कपमा छनोट हुने राम्रो अवसर छ।’

    नेपालले एसियन कप छनोटका लागि आगामी महिनादेखि तयारी थाल्ने उनको भनाइ छ। एसियन कपको छनोट आगामी १३ देखि २५ सेप्टेम्बरमा हुँदैछ। छनोटबाट ८ टिम आगामी वर्ष भारतमा हुने एसियन कपका लागि छानिनेछन्।

    ‘तत्काल हामी लिगमा राम्रोल खेलेका खेलाडीलाई अभ्यासमा बोलाउँछौं। त्यसबाट माथिल्लो स्तरका लागि उनीहरुलाई तयार गर्छौं,’  उनले भने, ‘हामीले केही फरक तरिकाले अभ्यास गर्ने आशा गरेका छौं। प्रत्येक खेलाडीको प्रतिभा थाहा पाउने कोशिस गर्नेछौं। हामी युवा खेलाडीलाई पनि स्थान दिनेछौं।’

    जुनसम्ममा नेपाली राष्ट्रिय टिमलाई पूर्णरुपमा तयार पर्ने उनले बताए।

    राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा घाइते हुँदा महिला टिमलाई ठूलो घाटा भएको उनले बताए। 

    Leave a Reply