पौष २३। मेलमिची नगरपालिका वडा नं ११ को महेन्द्रप्रिया आधारभूत विद्यालयको ५८औँ वार्षिकउत्सव तथा १०औं अभिभावक सम्मेलन बिहीबार सम्पन्न भएको छ । पूर्णरुपमा स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यालयको वार्षिकोत्सव मनाइएको विद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गुड ह्यान्स नेपालका अध्यक्ष दावा लामाले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तर विकास हुन जरुरी रहेको बताउनुभयो । भूकम्पले भत्काएको विद्यालयको भवन गुड ह्यान्स नेपालको सहयोगमा निर्माण भएको हो । सुविधा सम्पन्न १० कोठे भवन निर्माण गरेको गुड ह्यान्स नेपालले तीन वर्षअघिदेखि नै विद्यालयलाई सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
गुड ह्यान्स नेपालले विद्यार्थीका लागि पोषाक, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोगि संस्था गुड ह्यान्स नेपालले २ शिक्षकसमेत सहयोग गरेको छ । कार्यक्रममा लामाले शैक्षिक सुधारका लागि विद्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले स्थानीय सरकारसँग साझेदारी गर्दै थप सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । यसैबीच सामाजिक अभियन्ता दावा लामाले रेडियो मेलम्चीको प्रसारण सबलीकरणका लागि १ थान प्रिन्टरसहित कम्युटर उपलब्ध गराउनुभएको छ ।

