
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विवाद बाहिरिएको हो ।
शुक्रबारको नयाँ पत्रिकाले लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता श्रेष्ठको नाम मुछिएको उल्लेख गरेको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।
प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
नयाँ पत्रिकामै ‘बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा माथिकै मिलेमतो’ शीर्षकमा प्रमुख समाचार छापिएको छ ।
बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ? उच्च र सर्वोच्चमा समेत पुगेको यति गम्भीर मुद्दामा जिल्ला अदालतका न्यायाधीश एक्लैले यति ठूलो जोखिम लिन सक्छन् ? न्यायिक प्रक्रियामा उठेका प्रश्नहरू भन्छन्, ‘सिद्धबाबालाई उन्मुक्ति दिने यो प्रक्रियामा जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला एक्ला छैनन्, देशको सिंगो प्रणाली परिचालित भएको छ ।’

समाचारमा भनिएको छ–महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा मिसिल पुग्न एक दिन लाग्छ, तर १० दिनसम्म किन पुगेन ? उच्च अदालत विराटनगर र जिल्ला अदालत सुनसरीको दुरी २९ किलोमिटरमात्रै छ, तर उच्चको आदेश जिल्ला पुग्न पाँच दिन किन लाग्यो ?’
सोही पत्रिकामा संसदीय समितिको निर्देशन विपरित डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरिएको समाचार छापिएको छ ।
नागरिक दैनिकले ‘विप्लव समूहलाई खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या’ भएको खबर लेखेको छ ।
मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए । तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन् ।
शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ ।
विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर यसैको एक उदाहरण हो । त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ ।

विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिएपनि राम्रोसँग विकास भएको छैन । हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन् ।
मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उदृत गर्द एक स्थानीयले बताएअनुसार आइतबार साँझ साथ टिपेर फर्कँदै गर्दा बारीबाट नचिनेका दुई जना भाग्दै थिए । को हो भन्दै उनीहरुतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे । घरदेखि अली पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ । ‘उहाँ (श्रेष्ठ) ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु, गाई ब्याउन लागेको छ भन्नुभयो’, धनकुमारीले भनिन्, ‘छिमेकीहरु आत्तिदै बाख्रा खोरमै आएर तपाईँको पतिलाई कसैले अपहरण गरेर लगे भने । त्यसपछि सबैजनाले खोज्न थाल्यो । खोज्दै जाँदा बन्दुक पड्किएको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो ।’
उनका अनुसार हत्याराहरुले खसी र एउटा बाख्रा मागेका थिए । ‘उनीहरुलाई श्रीमानले बाख्रा चाहिँ दिने भन्नु भएको थियो । खसी नदिँदा यस्तो घटना भयो’, उनले भनिन् ।
शिक्षक हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ । कान्तिपुरले भने तरकारी माग्नेहरुबाटै शिक्षकको हत्या भएको खबर छापेको छ ।
विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।
उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो ।
अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो ।
सोही पत्रिकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरूमा साताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको, कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्तिगत र संस्थागत सहयोग उठाउने योजना बनाउन लागेको समाचार पनि छापेको छ ।
नागरिक दैनिकमा चिसो बढेसँगै नागरिकमा सकस परेको समाचार छापिएको छ । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ। बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो। पत्रिकाले ‘सिरक फाट्यो सरकार’ शीर्षकमा प्रमुखताका साथ समाचार छापेको छ ।
राजधानी दैनिकले ‘नेपालसँग सम्बन्ध सुधार गर्न भारतबाट एकपछि अर्को भ्रमण’ शीर्षकमा समाचार छापेको छ ।
सीमा विवादका कारण नेपालसँग बिग्रिएको सम्बन्ध सुधारका लागि भारतबाट एकपछि अर्को नेपाल भ्रमण भएको छ । भारतीय विदेश सचिव हर्षवर्धन शृंगला सचिवस्तरीय बैठकमा ११ मंसिरमा नेपाल आएर फर्केलगत्तै सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल आएका छन् ।

उनको भ्रमण पछिल्लो समय नेपाल र भारतबीच देखिएको समस्या समाधान र सम्बन्ध सुधारका लागि केन्द्रित रहेको छ । भारतीय विदेश सचिव शृंगला नेपाल आएर फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आएपछि पछिल्लो घटनाक्रम बुझ्न विदेश मामिला प्रमुख चौथीवाल नेपाल आएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिएका चौथीवालले नेपालसँग सम्बन्ध सुधारका आयाम के हुन सक्छन् भन्ने विषयमा नेपालका नेताहरूसँग कुरा गरेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।
सोही पत्रिकामा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदपूर्ति गर्ने उद्देश्यले यही २८ मंसिरमा संवैधानिक परिषद्को बैठक बोलाएको खबर छापिएको छ । महत्वपू्र्ण संवैधानिक निकायमै लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा ती निकायले गर्ने महत्वपू्र्ण कार्य प्रभावित हुँदै आइरहेका छन् । यसले राज्य सञ्चालनमै गम्भीर समस्या देखा पर्न थालेको कानुनका जानकारको विश्लेषण छ ।

यसै सरकारी अखबार गोरखापत्रले कोभिडविरुद्धको खोप ल्याउन तयारी तीव्र पारिएको खबर छापेको छ । समाचारमा भनिएको छ– कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार भई त्यसको प्रयोग प्रारम्भ भएपछि नेपालमा पनि छिट्टै खोप आउने आशा पलाएको छ । विश्वका विभिन्न मुलुकमा खोपको प्रयोग सुरु भइसकेको छ भने नेपाल सरकारले यसको खरिदका लागि चासो र तयारी अगाडि बढाएपछि छिट्टै खोप आउने सम्भावना बढेर गएको छ । विश्व स्वास्थ्य सङ्गठनको पहलमा कोभ्याक्स अनुदानको खोप छिटो आउने बाटो कुरिरहेको नेपाल सरकारले अन्य बाटोबाट खोप भित्र्याउने प्रक्रियासमेत अगाडि बढाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार विभिन्न मुलुकले बनाएका खोप खरिद गरेर ल्याउन प्रक्रिया अगाडि बढाइएको छ । साथै खोप ऐन र नियमावलीका आधारमा खोप कोष सञ्चालन गरेर खोप छिटो ल्याउन सरकारले पहल थालेको छ ।
सोही पत्रिकामा कोरोना कहरका बीच पनि पूर्वाधार विकास तिव्र रहेको, काठमाडौं–दिल्ली उडान हुन लागेकोलगायतका समाचार पनि प्रमुखताका साथ छापिएको छ ।

