
सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाउदै ।
वीरगन्ज,
पर्सामा एक युवकको शव फेला परेको छ । जिल्लाको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुर पिपरास्थित शव फेला परेको छ । तीन दिनदेखि वेपत्ता रहेका कालिकाई गाउँपालिका १ तिनडोबिया टोल निवासी अबुलैस राउत गद्दीको २६ वर्षीय छोरा मामुल राउत गद्दी भन्ने नामुल हुसेनको शव फेला परेको हो । छिमेकी साथी बलिराम पटेलको विवाहमा धोबिनी गाउँपालिका–१ भिखमपुर स्थित जन्ती जान भनेर आफ्नै दुईजना साथीले घरबाट बोलाएर ल्याएको जन्ती स्थलमा नपुगी त्यस दिनदेखि नै वेपत्ता रहेका गद्दीको तीन दिनपछि शव नहरको किनारामा फालेको अवस्थामा फेला परेको हो ।
गद्दीको दाहिने आँखा निकालिएको छ, जसले गर्दा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारभिक अनुसन्धानबाट खुलेको छ । गद्दीलाई जन्ती जान भनेर घरबाट बोलाएर ल्याएका दुई छिमेकी साथीहरु हिजैदेखि फरार रहेका छन् । तीन दिनदेखि वेपत्ता रहेका गद्दीको शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी प्रहरी चौकीका र भिखमपुर स्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाई भिखमपुर स्थित एम्बुलेन्समा उक्त शवलाई राखेर पोष्टमार्टमको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको थियो ।
गद्दीको दाहिने आँखा निकालिएको कारण उनलाई रिसिवीको कारण जन्ती जाने बहानामा घरबाट बोलाएर ल्याएर हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

