
जलविरे, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा भएको बोलेरो दुर्घटनामा परि २ जनाको ज्यान जानुको साथै १२ जना घाईते भएका छन्। जलविरे–ढुङ्ग्रे ग्रामिण कृषि सडक अन्तर्गत आज बिहान अन्दाजी ९ बजेर ५५ मिनेटमा जलबिरेमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकको साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटनामा परेको गाडी बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक चितवन इच्छाकामना गाउँपालिका ६ मस्राङका ३० वर्षिय निर्मल गुरुङ र सोही बोलेरोमा रहेका इच्छाकामना गाउँपालिका ६ ढुङ्ग्रेका ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
यस्तै दुर्घटनामा परि १२ जना घाईते भएका छन्। घाईते मध्य ३ जनाको अवस्था गम्भिर, ३ जनाको अवस्था मध्यम र बाँकी ६ जना घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको चितवन मेडिकल कलेज भरतपुर र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ भने मृतक शव पोष्टमार्टमको लागि भरतपर अस्पताल लगिएको छ ।चितवनको इच्छाकामानान्युजले छापेको छ ।

