
दाङ, १८ मंसिर
दाङ जिल्लाको देउखुरीमा अवस्थित गढवा गाउँपालिकामा आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै भाइ बुहारीलाई बोक्सी भएको भनी आरोप लगाउने गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने तिलकराम चौधरीलाई मंगलबार ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो । पिडित महिलाले प्रहरी समक्ष जाहेरी दिएपछि निजलाई बोक्सीको आरोप लगाएको कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पिडक जेठाजुले विगत ४ वर्ष देखि नै आफुलाई बोक्सी भन्ने गरेपनी जेठाजु भनेर सहेर बसेको तर आज कुटपिट गर्न थालेकोले वाध्य भएर उजुरी दिएको पीडित महिलाले बताएकी छिन ।
प्रहरीले पिडक चौधरीलाई पक्राउ गरे पश्चात् दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ । बोक्सी आरोप लगाएको कसुर प्रमाणित भएमा आरोप लगाउने ब्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

