महोत्तरि बालिका हत्या प्रकरण : चार बुँदे सहमतिपछि पनि प्रदर्शन, नगरपालिकाद्वारा राहत रकमको घोषणा

  • ११ मंसिर २०७७, बिहीबार १७:५२ मा प्रकाशित
  • महोत्तरी – चार बुँदे सहमतिपछि बिहीबार बिहानदेखि महोत्तरीको बर्दिवासमा जनजीवन सामान्य बने पनि दिउँसोदेखि फेरि प्रदर्शन भएको छ ।

    बालिका हत्याको विषयलाई लिएर विरोध स्वरूप तेस्रो दिन पनि महोत्तरीमा प्रदर्शन भएको हो, स्थानीय बासिन्दाले बर्दिवासमा टायर बालेर प्रदर्शन गरेका हुन् । बजार, शिक्षण संस्था, उद्योगहरू बिहीबार पनि खुल्न सकेनन् । सम्सी र गौशालामा पनि प्रदर्शन भएको छ ।

    बर्दिवास नगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ति निकालेर मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले मृतकका परिवारलाई दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रहरीकाे गोली लागेर ज्यान गुमाएका बुद्धिराज न्यौपानेको परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

    गएकाे मङ्सिर ७ गते बेलुकादेखि हराइरहेकी ६ वर्षीया बालिकाको शव मङ्सिर ८ गते मध्यरातमा फेला परेको थियो । मङ्सिर ९ गते बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो । 

    बालिकाकाे बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  आजको उज्यालो अनलाइनले छापेको छ।

    Leave a Reply