
समशिताेष्ण हावापानी र सुन्दर वातावरण रहेकाे एशियाकै ठूलाे उपत्यका दाङ, जहाँ नेपालकाे एउटा मात्र संस्कृत विश्व विद्यालय रहेकाे छ। हाल यसै जिल्लाकाे १२००० बर्ष पुरानो एेतिहासिक परम्परा बाेकेकाे श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा अवस्थित अनाैपचारिक रुपमा करिव डेढ बर्ष अगाडिदेखि सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण र निरन्तरताकाेलागि सुरुवात गरिएकाे गाेरखनाथ वैदिक गुरुकुलमले घाेराही नगर शिक्षाबाट धार्मिक विद्यालय ‘गाेरखनाथ वैदिक गुरुकुलम्`काे रुपमा मान्यता प्राप्त गरेकाे छ । विशेष चासाेकाे रुपमा हेरिएकाे गाेरखनाथ वैदिक गुरुकुल दाङ जिल्लाकै पहिलाे गुरुकुल हाे । हाल गुरुकुलले कक्षा ६ देखि पठनपाठन गराउने अनुमति पाएकाे छ । (प्रस्तुत छ गुरुकुलका विषयमा केन्द्रीत रहेर हिमालय दृष्टि अनलाईनले केही दिन पहिले गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईसंग लिईएकाे अन्तरवार्ता)

दाङमा वैदिक गुरुकुलकाे रुपमा चलाउने अनुमति प्राप्त गर्नुभएकाेमा बधाई छ अध्यक्ष ज्यू ।
हजुर, धन्यवाद छ यहाँलाई ।
अहिले यहाँहरुले गुरुकुल संचालन गर्ने अनुमति पाउनु भएकाे छ ,गुरुकुल संचालन र अन्य विद्यालय संचालनमा केही भिन्नता पाउनु भएकाे छ ?
भिन्नता छ ।यहाँ गुरुकुलीय पद्धतिमा रहेर पठनपाठन गराउनु पर्ने हुन्छ ।शिक्षण विधि पनि अलि फरकै हुन्छ ।पढाउनु पर्ने विषयमा अन्य विद्यालयकै सरहनै हाे ।तर संस्कृत भाषा,व्याकरण र नैतिक शिक्षा यहाँ अनिवार्य हुन्छ ।
अहिले कति कक्षादेखि भर्ना गर्दै हुनुहुन्छ ?
कक्षा ६ देखि भर्ना गर्दैछाैं । अन्य विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका विद्यार्थी यहाँ भर्ना हुनेछन् । संस्कृत विषय कक्षा ६ काे पढ्नुहुनेछ । अन्य अरु विद्यालयकाे नै रहने छ ।

गुरुकुल शिक्षा प्रति अभिभावककाे चासाे कत्तिको पाउनु भएकाे छ ?
अाफ्ना बालबच्चालाई कुन अभिभावकले संस्कार र सभ्यता सिउन चाहनुहुदैन र ? कहांबाट त्याे शिक्षा पाउने ? समाजमा राज्यले ब्यवस्था गराउनु पर्दछ । त्यसभन्दा महत्वपूर्ण कुरा समाजले खाेजी गर्ने र हुर्काउन अावस्यक देखिन्छ । अहिले अाएर दाङ जिल्लामा नै पहिलाे पटक अाधिकारिक रुपमा मान्यता प्राप्त गुरुकुल विद्यालय खुलेकाे छ । अब अाफ्ना बालबच्चालाई देवघाट,स्वर्गद्वारी र भारतका हरिद्वार, बनारस लगेर पढाउनु पर्ने जुन बाध्यता थियाे ,अब त्याे रहेन । चाहना गर्नेलाई जिल्लामानै याे सुविधा पाउनु हामी सबैका लागि खुसिकै कुरा हाे । एकै पटक सबै सुविधा कहि पनि त्यसै अाएकाे हाेईन । समाजमा गुरुकुल चलाउनु अाफैमा साधना हाे । भावि पिढींकालागि पनि अभिभावकहरुबाट त्याे साधना गर्नु पर्दछ ।
गुरुकुल चलाउन सजिलाे त्यत्ति छैन भन्ने कुरा समाजमा सुनिन्छ ,के कसरी लैजानु हुन्छ ,यसमा यहाँकाे अनुभव ?
पक्कै पनि साेचेजस्ताे सजिलाे चाहिँ छैन । अभिभावकलाई बुझाउन अावस्यक छ,कतिपयले बुझ्नु भएकाे पनि छ ।दाङ जिल्लामा याे पहिलाे अनुभव हुदैछ ।याे अनुभव पूर्व र पश्चिमका धेरै जिल्लामा भैसकेकाे छ ।सबै सफलै हुनुभएकाे पांउदछाैं ।गुरुकुल चलाउन निस्वार्थभाव ,सहयाेगि मनकाे अावस्यक्ता रहन्छ । सबैकाे प्रयासबाट याे सम्भव छ ।

अार्थीक ब्यवस्थापन कसरी गर्ने साेचाई लिउनु भएकाे छ ,के छ यहाँकाे अार्थीक याेजना ?
पक्कै पनि कुनै पनि कार्यकाे पछाडी अार्थीक कुरा जाेडिएर अाउँदछ । गुरुकुलमा पनि अार्थीक व्यबस्थापनकाे प्रमुख भूमिका रहन्छ । अहिलेलाई नेपाल महर्षि वैदिक फाउन्डेसनको केही सहयाेग प्राप्त भइनै रहेकाे छ । त्याे सहयाेग गुरुकुलमा दैनिक रुद्राभिषेक यज्ञ लगाए वापत मिल्ने दक्षिणा हाे । गुरुकुलमा गुरु,शिक्षक, कर्मचारीहरु पनि राख्नुपर्ने हुन्छ । त्यसकाे लागि अार्थीक ब्यवस्थापनक गर्न एउटा “अक्षय काेष ” स्थापना गर्ने साेचाई लिएका छाैं । उक्त काेष स्थापना गर्नका लागि यस एेतिहासिक मठमा महायज्ञ लगाउने साेच लिएका छाैं । देश,विदेशमा रहनुभएका दाताहरुलाई गुरुकुलसंग जाेडेर वहाँहरुलाई पनि तन,मन,धनले सहयाेग गर्नकालागि अाह्वान गर्ने साेच लिएका छाैं। अर्काे महत्वपूर्ण कुरा के छ भने वि. स. २०४६ अाश्विन महिनामा राष्ट्रगुरु याेगी नरहरिनाथजी महाराजले गुरुकुल र गौशाला संचालन गर्ने मूख्य उद्धेश्य लिएर काेटीहाेम लगाउनु भएकाे सिद्ध रत्ननाथ मठ, जुन स्थान राष्ट्रगुरु याेगी नरहरिनाथज्यू सँग जाेडिएकाे कारणले पनि हामीलाई सजिलाे हुनेछ ।हामीलाई विस्वास छ याेगीज्यूकाे सपना साकार हुनेछ । वहाँकाे याे पवित्र भावनाकाे कदर हुनेछ ।

याे गुरुकुल अावासीय हाे भन्ने कुरा सुनेका छाै ,के कस्ताे हाे प्रष्ट पारिदिनु हुन्थ्याे कि ?
अावासीयनै हाे । वैदिककालमा गुरुकुलमा गुरुकाे सानिध्यमा रहेर शिक्षा,दीक्षा अार्जन गर्ने परिपाटी भए अनुरुपनै हाे ।कसै कसैले घरैबाट पनि यस स्थानमा पठन पाठन गराउन चाहन्छाै भनेर ईच्क्षा लिनुभएकाे खण्डमा केही गुरुकुलीय सर्तहरुकाे अनुशासनमा रहेर पढाउन सक्नु हुनेछ ।
यहाँहरुकाे गुरुकुलमा जातीय भेदभाव छ कि छैन ? साथै कुन उमेरकाले पढ्न लेख्न पाउँछन् ?
संस्कृत भाषा पढ्न,लेख्नका लागि, ज्ञान अार्जन गर्नका लागि कुनै पनि भेदभाव हाम्राे गुरुकुलमा छैन । त्यस्तै प्रकारले कुनै पनि उमेरकाे व्यक्तिले पढ्न,लेख्नका लागि सधैनै स्वागत छ , उमेरले राेकावट हुनेछैन । वहाँहरु सबैमा गुरुकुलकाे सत्संग र साप्ताहिक भेलामा अनिवार्य उपस्थिति ,सहभागिता अनिवार्य हुनुपर्ने छ ।
गुरुकुलमा कार्यक्रम निकै गरेकाे देखिन्छ नि ! यहाँहरु फेसबुक मिडियामा धेरै देखिनुहुन्छ,अन्यथा नमानिदिनुहाेला ,जिज्ञासा लागेर साेधेकाे हाे । के छ यहांकाे भनाई ?
केवल गुरुकुलमा मात्र शिक्षण र संस्कारका गतिविधि सिमित राख्ने हाम्राे उद्धेश्य हाेईन ,समाजमा पनि त्यसलाई उजागर गराउंदै लैजानु पर्नेहुन्छ ।गुरुकुलसंग समाजलाई र सिङ्गाे राष्ट्रलाई जाेड्नकालागि हामीले कार्यक्रम गर्ने गर्दछाैं ।भेला , सत्संगबाट नै समाजलाई सन्देश दिन सकिन्छ भन्ने उद्धेश्यनै हाम्राे हाे ।
अन्तमा मैले सोध्न भुलेको हजुरलाई भन्न मन लागेकाे कुरा केही छ की ?
भर्खरै घाेराही नगर शिक्षाबाट गुरुकुल संचालनकाेलागि अनुमति प्राप्त गरेका छाै । गृहकार्य गर्दैछाैं । सबै निकायसंग समन्वयन गरेर चल्नुपर्ने हुन्छ । याे गुरुकुललाई नमुना गुरुकुल बनाउनकालागि नेपाल महर्षि वैदिक फाउण्डेशन संग परामर्ष बढाउने याेजना बनाउने साेचाई रहेकाे छ । किनभने १२०० बर्ष पुरानाे एेतिहांसिक मठमा संचालनमा रहेकाे याे गुरुकुलबाट हठ याेगकाे क्षेत्रमा याेजना बनाई विश्वलाई नै नयाँ दिशा दिन सक्ने सम्भावना रहेकाे छ ।
याे ८४ सिद्ध मध्यका एक सिद्ध रत्ननाथजीकाे प्रमुख स्थल हाे । हठयाेगकाे प्रचार प्रसार गर्नुहुने सिद्ध याेगी रत्ननाथकाे महिमा नेपाल ,भारत हुँदै अफगानिस्थानकाे कावुलसम्म रहेकाे पढ्न पाईन्छ । यसका बारेमा मठ परिवार ,पीर मठाधीश योगी सन्तोषनाथ, महन्त सुरतनाथ योगी, सहायक महन्त महाराज योगी देवनाथ, डा.चिन्तामणि याेगी, डा. भाेलानाथ याेगी लगायतका विद्वानहरुले त्यसै अनुसारले अगाडि बढाउँदै लैजानु पर्दछ भन्ने कुरामा जाेड दिनुभएकाे छ ।सबै मिलेर यस पवित्र कार्यमा लागाै । जय शिव गाेरख ।



उत्तम कार्य