संववादता

पर्सा बिरगंज
प्रहरीको ज्यादतीको विरोध गर्दै जीराभवानी गाउँपालिका–१ जगतिया चोकमा साँझ ५ः१५ बजे प्रहरी र स्थानीयबीच विवाद भएको छ।
जीराभवानी गाउँपालिका–१ बलुवा निवासी नेसार समानीले पेट्रोलियम पदार्थ ल्याउँदा प्रहरीले माग गरेको रकम नदिंदा प्रहरीले पिस्तोल तेस्र्याउँदै कुटपिट गर्दा विवाद भएको समाचार छ।
इलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवले सादा पोशाक लगाएर समानीसँग पच्चीस हजार रुपियाँ माग गरेको समानीले बताए। उनले घटनाको भ्वाइस रेकर्ड आफूसँग रहेको पनि बताए।
समानीले ठोरी गाउँपालिका–४ विजयबस्तीमा रहेको नेवा पेट्रोल पम्पबाट चार ड्रम डिजेल ट्याक्टरमा लोड गरी महादेवपट्टि तथा बलुवाका किसानलाई बिक्री गर्दै आएका छन्। समानीमाथि प्रहरीले गरेको ज्यादतीको विरोध गर्दा अवस्था तनावग्रस्त भएपछि प्रहरी चौकी सुवर्णपुर, बलुवा र सशस्त्र बेस क्याम्प सुवर्णपुरको टोली घटनास्थलमा पुगी सामान्य बनाएको थियो।
स्थानीयको भीडले प्रनानि यादवलाई घटनास्थलमैं घेरेर राखेका थिए भने पछि इलाका प्रहरी कार्यालय ठोरी र पटेर्वासुगौलीका प्रहरी अधिकारीले स्थानीयसँग वार्ता गरी प्रनानि यादव, समानी र पेट्रोलियम पदार्थसहितको ट्याक्टर इप्रका सेढवा लगेका थिए।
प्रसनि मुक्तिनारायण यादवको ठोरी क्षेत्रमा पनि अत्यन्त ज़्यादती रहेको स्थानीयहरुको ब्यापक गुनासो रहेको छ । जनता माथि कानुनको आडमा गर्ने ज़्यादती तुरुन्त बन्द हुनु पर्ने स्थानीयको माग छ ।
यस सम्बन्धमा जिप्रका पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर इप्रका सेढवामा आई वार्तापछि टुङ्गो लाग्ने सहमति भएको छ।

