
महोत्तरी : ६ वर्षीया बालिकाको हत्याको बिरोधमा पूर्व पश्चिम राजमार्ग स्थित बर्दिवासमा बिरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाईते भएका छन् ।

घाइते मध्ये गोली लागेका २ जनालाई थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । संजय भनिने बर्दिवास वडा नं. १बस्ने ३२ वर्षीय बुद्धिराज न्यौपानेको दाया तिघ्रामा र चारवटा गोली लागेको वडा नं. ५ का २८ वर्षीय श्याम कार्कीलाई काठमाण्डौ पठाइएको छ । अर्को घाईते पिडितका आफन्त २५ वर्षीय अफताब आलम टाउको फुटेको र उनको स्थानिय शुभ स्वस्तीक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रु ग्यास, लाठी चार्जको साथै कर्यौ राउण्ड गोली चलाएको थियो ।

बालिका हत्याको बिरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पुर्व पश्चिम् राजमार्ग मै राखेर अवरुद्ध गर्दै प्रदर्शन गर्ने क्रममा स्थिती नियन्त्रणमा लिन र राजमार्ग खुलाउन अश्रुग्यास र गोली चलाएको इलाका प्रहरी कार्यालय वर्दिवासका डिएसपी राजन चापागाइँले जानकारी दिनुभयो ।

प्रहरीले एकसय राउण्ड भन्दा बढी हवाई फायर गरेको स्थानीयहरुले बताएका छन् । हत्या गरिएकी बालिकाको शव प्रहरीले राजमार्गबाट आफ्नो नियन्त्रण लिई पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरुको लाम लागेको थियो भने अहिले राजमार्ग सुचारु भएको छ ।
बालिका अपहरण पश्चात् हत्यामा सलग्नहरुलाई पक्राउ गर्न, दोषीमाथी कडा कारवाहीको माग गर्दै स्थानीयहरुले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

मंसिर ७ गते आइतबार देखि वेपत्ता भएकी ६ बर्षीया बालिकाको हत्या गरेर फालिएको अवस्थामा शव मंसीर ८ गते फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बस्तीबाटै हराएकी सहिद आलमकी ६ बर्षिया छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिनुुुभयो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घरभई हाल बर्दिवास ननगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई गिरफ्तार गरेको जनाएको छ । हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले घरमा आगजनी गरेका छन् । आगजनीबाट घर जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

गिरफ्तार गरिएका साह यसअघि पनि हत्या आरोपमा जेल परेर छुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
२०७७ बैशाख २८ गते साह हत्या आरोपमा पक्राउ परेको साह जिल्ला अदातल महोत्तरीबाट धरौटी रिहा भएका थिए ।
अहिले राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
घटना पीडित मृतक बालिकाको वुवा सहिद आलमले न्यायको लागि पहल गरिदिन इन्सेक लगायतका अधिकारकर्मी, पत्रकारहरुलाई आग्रह गरेको छ।
श्रोत-मोहतरी पोस्ट

