
घोराही, दाङ, १३ मंसिर
दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. ४ तल्लो भकारेमा लक्ष्मीपुर आधारभूत अस्पतालको शिलान्यास भएको छ । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोख्रेलले आज उक्त अस्पतालको शिलान्यास गर्नुभएको हो ।
संघीय सरकारको एक स्थानिय तह एक आधारभूत अस्पताल भन्ने कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकामा आज १५ बेडको अस्पताल भवन शिलान्यास गरिएको हो ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पोख्रेलले अस्पताल निर्माणका लागि थप एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उक्त अस्पताल निर्माणका लागि संघिय सरकारले अहिले ७० लाख बजेट बिनियोजन गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष वडा अध्यक्ष भीमबहादुर सार्कीको स्वागत मन्तव्य सँगै शुरु भएको शिलान्यास कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरीले अध्यक्षता गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपाका वडा अध्यक्ष मुनाल घिमिर लगायतले खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।


