
घोराही, ८ कात्तिक
हिन्दुहरुको महान चाड बडादशैंको आज आठौं दिन अर्थात महा-अष्टमी पर्व,जसलाई नवरात्रीको आठौं दिन पनि भनिन्छ ।
नवरात्री भरी माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्विदात्रीको पुजा आजा गरिन्छ ।
आजको दिन विभिन्न शक्तिपिठहरुमा दुर्गाको आठौ स्वरुप महागौंरीको विधि अनुसार पुजा अनुष्ठान गर्ने गरिन्छ । गणेश स्वरुप स्थापित कलशको वरिपरि नवदुर्गाको प्रतिमा स्वरुप ९ वटा स-साना ढुङ्गा राखी नैवेद्य, फलफूल आदि चढाएर भक्तिपुर्वक विशेष पुजा अर्चना गर्ने गरिन्छ ।आजको दिन भद्रकालीको विषेश पुजाआजा गरिन्छ ।
पौराणिक कथा अनुसार आफ्ना पिता दक्षप्रजापतीले पति महादेवको गरेको निन्दा सुन्न नसकेर सतिदेवीले अग्निकुण्डमा हामफालेर आत्मदाह गर्दछिन । यो खवर थाहा पाए पछि रिसले क्रोधित भई चुर चुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली प्रकट भएकी थिईन ।
आज महाशक्ति स्वरुपा महागौरी र भद्रकालीको पुजा अनुष्ठान गरिसके पछि वलि दिने प्रचलन रहेको छ । वलि स्वरुप हाँस, बोका, कुखुरा आदिको वलि दिने चलन रहेको छ भने शाकाहारीहरुले कुभिण्डो, घिरौला आदिको वलि दिने गर्दछन । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्सीवाद दिन्छीन् भन्ने विश्वास रहेको छ ।
आज घर घरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोईपखाली महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ ।
आजकै दिन काठमाडौको हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरमको दशै घरमा ५४ वटा बोका र ५४ वटा राँगाको वलि दिने गरिन्छ । आज विहानै देखि काठमाडौ उपत्यका वरिपरिका विभिन्न शक्तिपिठहरु जस्तै दक्षिणकाली, नक्साल भगवती, गुह्यश्वरी, कालिकास्थान, मैतिदेवी, भद्रकाली, शोभा भगवती, बज्रयोगिनी, बज्रवाराही, विजेश्वरी, इन्द्रायनी, सङ्कटा, रक्तकाली, आदि लगायत देशभरका विभिन्न शक्तिपिठहरुमा पुजा अर्चनाका साथ वलि दिने श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
दाङको अम्बेकेश्वरी, धारापानी लगायतका मन्दिरहरुमा विहानै देखि श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । पशु अधिकारकर्मी हरुले वलि प्रथाको कडा विरोध गरे पनि पशु वलिमा कुनै कमि आउन सकेको छैन ।

