४ कात्तिक, २०७७
बालिका अपहरण र बन्धक बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका तीन अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर: महानगरीय प्रहरी प्रभाग ललितपुर
अपहरण गरी बन्धक बनाइएकी बालिकालाई ललितपुर प्रहरीले उद्धार गरेको छ। ललितपुरको हरिसिद्धिमा रहेको सीता परियारको डेरामा बन्धक बनाई राखेको अवस्थामा ८ वर्षीया बालिकालाई सकुशल उद्धार गरिएको महानगरीय प्रहरी प्रभाग ललितपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार बारा सिम्रौनगढ नगरपालिका–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्ने गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साह अपहरण परेको प्रहरीले बनाएको छ। बालिका सोमबार साँझ साँढे ७ बजे अपहरणमा परेकी थिइन्।
आफन्तलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार कोठा भन्दा बाहिर खेलिरहेको समयमा साइकल चढी आएका अज्ञात व्यक्तिले साइकलमा हाली बालिकालाई लगेका थिए। बालिकाका परिवारले मौखिक जानकारी दिएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले खोज्दै जाँदा बन्धक अवस्थामा बालिका फेला परेकी थिइन्।
बालिकालाई अपहरण गर्ने र बन्धक बनाउने कार्यमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।
पक्राउ पर्ने तीन जनामा बालिका अपहरणका मुख्य योजनाकार सर्लाही हरिवन–८ घर भई ललितपुर हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अन्यमा काभ्रे नमोबुद्ध–८ बुचाकोट घर भई ललितपुर हरिसिद्धि बस्ने २३ वर्षीया सीता परियार र धनुषा धारापानी–२ घर भई हरिसिद्धिमै बस्ने ४० वर्षीय कृष्ण तोलामी रहेको प्रहरीले जनाएको छ।
बालिकालाई लगिएको भनिएको एक साइकल समेत प्रहरीले बरामद गरेको छ।
मौखिक जानकारी आएपछि प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले प्रविधिको प्रयोग गरी खोजतलास गर्दै जाँदा सोमबार राति सबा १० बजे बालिकालाई बन्धक अवस्थामा फेला पारेको सातदोबाटो प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ। श्रोत फरक धार

