
पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताउनुभयो । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो”, मनिषाले भन्नुभयो, “दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ” । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताउनुभयो। उपडेट नेपाल बाट

