तमु धीं नेपालको अध्यक्षमा हुम तमु निर्विरोध निर्वाचित, स्थापनाको ३६ वर्षपछि नयाँ नेतृत्व

  • २२ आश्विन २०७७, बिहीबार १६:४४ मा प्रकाशित
  • पोखरा, २१ असोज । तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । केही विवादपछि करिब एक सातापछि प्रक्रिया पुर्याएर निर्वाचत समितिले हुमबहादुरलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो ।

    तमुधिँ स्थापनाको ३६ वर्ष पश्चात नेतृत्व हस्तान्तरण भएको छ । २०४२ साल स्थापना कालदेखि नै लगातार तमु धिंको नेतृत्व गर्दै आएकी आइरन लेडी कर्म तमु पश्चात युवा समाजसेवी, समुदायका अधिकारका लागि संघर्षशील, बौद्धिक व्यक्तित्व एवम पत्रकार हुमबहादुरले आगामी नेतृत्व गर्ने भएको हो ।

    तमु धिं नेपालको १५ औं महाधिवेशनको नेतृत्व चयनका क्रममा चारभञ्ज्याङ तमु समाजका हुम बहादुर सहित पदाधिकारीहरु निर्विरोध चयन भएका छन् ।

    बुधकार निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार, वरिष्ठ उपाध्यक्षमा ताङतिङ दुधपोखरी तमु समाजका सुुमे श्रीप्रसाद तमु, प्रथम उपाध्यक्षमा सिद्धार्थ तमु समाजकी गीमाया तमु, द्धितिय उपाध्यक्षमा याङजाकोट तमु समाजका नारायण तमु, महासचिवमा मिलिजुली विजयपुर तमु समाजकी अधिवक्ता जुनाकुमारी तमु, सचिवमा फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिवमा चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर तमु, सहकोषाध्यक्षमा तमु सहयोग समितिकी सुवेदार तुलबहादुर तमु निर्विरोध चयन भएका हुन ।

    लामो समय तमु धिंमै रहेर गुरुङ युथ फोरम, प्रचार संयोजक, केन्द्रीय सदस्य, द्धितिय उपाध्यक्ष हुँदै ८ महिना कार्यवाहक अध्यक्षको जिम्मेवारी सकुशल निर्वाह गरेका अध्यक्ष पदका प्रत्यासी हुमबहादुरको विरुद्ध प्रस्तुत भएका ई. देउकाजी तमुको उम्मेदवारी बदर भएको निर्वाचन समितिको निर्णय पश्चात हुमबहादुर निर्विरोध भएका हुन ।

    बदर गर्नुअघि नै देउकाजी तमुले पत्रकार सम्मेलन गरी निर्वाचन प्रकृयाबाट बाहिरिएको सार्वजनिकीकरण गरेका थिए । यद्यपि निर्वाचन समितिले असोज २४ गते शनिवार घोषणा कार्यक्रम राखेको छ ।

    असोज १६ गते नै ३६ औं वार्षिक साधारणसभा र १५ औं महाधिवेशन सम्पन्न हुनुपर्नेमा विविध कारण देखाउँदै असोज ११ गते नै निर्वाचन समितिले निर्वाचन प्रकृया स्थगित गरेको थियो । जिल्ला प्रसासन कार्यालय कास्कीलाई जानकारी दिदै असोज १९ गतेबाट पुनः निर्वाचन प्रकृया निरन्तरताको क्रममा उम्मेदवार विरुद्ध उजुरी छानविन गर्दा देउकाजी तमुले उम्मेदवारले पालना गर्नुपर्ने नियम विपरित सिफारिस पेश गरेकाले उम्मेदवारी बदर गरिएको निर्वाचन समितिले प्रकाशन गरेको सुचनामा उल्लेख छ। आजको इच्छाकामनान्युजले छापेको छ।

    Leave a Reply