राघवेन्द्र चौवे, कपिलबस्तु ।
नेपालमा सुन तस्करीका घटना नयाँ होइनन् । प्रहरीले तस्करीको सुन पक्राउ गरेर सार्वजनिक गर्ने र घटना सेलाएर जाने सुन तस्करी प्रकरणको आम नियति नै हो । गत बिहिबार कपिलबस्तु प्रहरीले आधा किलो सुन बरामद गर्यो , साथमा एकजना सुन तस्करलाई पनि पक्राउ गर्यो । भारतको अलीगढ़वामा बसेर सुनको पसल संचालन गर्दै आएका कपिलवस्तु मायादेवी गाउँपालिका वार्ड नं ४ बस्ने ३२ बर्षिय पवन कुमार गुप्ता र उनकी एक भतिजीलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गर्यो ।
बिशेष श्रोतका अनुसार तस्कर पवन जिल्ला सदरमुकाम तौलिहवा देखी सुन लिएर भारत जाँदै थिए । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा मायादेवी गाउँपालिकाको वडा नम्बर ७ बनकसिहाबाट जिल्ला प्रहरी कार्यालय कपिलबस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तस्कर पवन दोहोरो नागरिकताधारी रहेको बुझिएको छ । गुप्ताले कम्मरमा बाधेको निलो रङको थैली भित्र लुकाई छिपाई राखेको अवस्थामा २४ क्यारेट सुन ४३ तोला (५०० ग्राम) र १८ क्यारेट सुनको सिक्रि १ तोला ४७ लाल, १८ क्यारेट सुनको औठि ३ आना प्रहरीले बरामद गरेको छ । उक्त सुनको नेपाली बजार मुल्य ४२ लाख तिन हजार छयानव्वे रहेको छ ।
साथै निजको साथबाट नगद आठ हजार नौ सय पच्चिस रुपैया फेला पारिएको थियो । गुप्तालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
यस्तै पछिल्लो समयमा नेपालमा पुनः सुन तस्कर सक्रिय हुन थालेका छन् । अवैध सुनको खपत भारतमा बढी हुने गरेको समेत पाइएको छ । नेपाल भित्रने अवैध सुनमध्ये ७५ प्रतिशत खपत भारतमा हुने गरेको छ । भारतमा नोटबन्दीपछि कालोधन सुनको रुपमा राख्नेको संख्या बढेको आशंका सुरक्षा संयन्त्रले गरेको छ ।
भारतमा सुनको खपत बढि हुने गरेकोले पनि सुन तस्करले मौकामा चौका हानेको देखिन्छ । असोज १५ गते तदनुसार सन् २०२० अक्टोबर १ तारिखका दिन सुन ब्यापारीनै सुन तस्करमा संलग्न हुनुले तस्करको गिरोह लामो हुनसक्ने कपिलबस्तु प्रहरीले अनुमान गरेको छ ।
पक्राउ परेको गुप्ताबाट प्रहरीले महत्पपूर्ण सुचना समेत प्राप्त गरेको कपिलबस्तुका प्रहरी उपरिक्षक एसपी नवराज अधिकारीले बताए । उनले भने– “सुन तस्करी भएको सूचना पहिलेनै आएको थियो तर पक्राउ परेको थिएन” । अहिले यो सानो माछाको भुरा हुन्, छिट्टै नै हामी ठूलो माछा समात्छौं, अधिकारीले भने ।
प्रहरी अनुसन्धानबाट अभियुक्त गुप्ताको अलीगडवामा पवन ज्वेलर्स छ । नेपालबाट उनले सुनतस्करी गरेर भारततर्फ जाँदै थिए, पवनको अलिगडवामा आफन्तको रजगज बिशेष रहेको खुलेको छ । पक्राउदेखि अनुसन्धान तहकिकातसम्मको समयमा तस्कर पवनले प्रहरीसामु धम्कीपूर्ण हर्कत समेत प्रस्तुत गरेका थिए ।
अनुसन्धानकै क्रममा उनले आफ्नो चाचा रमेश गुप्ता हिन्दु युवा वाहिनी सिद्धार्थनगरको जिल्ला अध्यक्ष रहेको बताएका थिए । जो भारत उत्तरप्रदेश सरकारको मुख्यमन्त्री योगी आदित्य नाथको राजनीतिक सँगठन हो । भारतमा उनको राजनीतिक पकड भएकाले पनि अहिले सम्म त्यहाँको प्रहरी प्रशासन मौन देखिएको छ ।

