
घोराही, ८ कार्तिक
गए राती दाङ जिल्लाको एकमात्र नाका कोइलाबासबाट सशस्त्र प्रहरीले एक नाल लोडेड भरूवा बन्दुक सहित विभिन्न अवैध हात हतियार बरामद गरेको छ ।
चाडपर्वको बेला विभिन्न अपराधीक घटना घट्न सक्ने र सिमा क्षेत्रमा वन्यजन्तुको अवैध चोरी शिकारी हुनसक्ने कुरालाई मध्यनजर राखी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका प्रमुख माधवप्रसाद ढुङगेलकाे कमाण्डमा खटि गएको गस्ती टाेलिले गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा समुदायिक भालुखाेला जंगलको बोर्डर एरियाबाट उक्त अवैध हातहतियार वरामद गरेको थियो ।
सशस्त्र प्रहरीको गस्ती टोली देख्ने बित्तिकै एक व्यक्ति अवैध हातहतियार छोडेर भारत तर्फ भागेको गस्ती टोलि प्रमुख ढुङ्गेलले जनाएका छन ।
उनका अनुसार गस्ती टोलीले लाेड गरिएको एक नाल भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने गाेली २१ थान, बारूध २ डिब्बा, ३ वटा केप, खुकुरी १ थान र चक्कु १ थान बरामद गरेको थियो । उक्त अवैध हातहतियार इलाका प्रहरी कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

