
घोराही, ८ कार्तिक
दाङ जिल्लाको बंगलाचुलीमा एक युवा आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ परेका छन । निजलाई आफ्नो बाबुको घरको छतबाट धकेलेर हत्या गरेको अभियोग लागेको छ ।
प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय वीरबहादुर वि.क.ले आफ्नै ४५ वर्षीय बाबु बालाराम वि.क.लाई घरको छतबाट धकेलेर हत्या गरेका थिए ।
शुक्रबार राति करिब ११:४५ बजेतिर घरायसी विवादका क्रममा अभियुक्त बिकले आफ्नो बाबुलाई घरको छतबाट धकेलीदिएका थिए । एक्कासि घरको छतबाट खस्न पुगेका बालारामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
घटना बारे प्रहरीले शनिबार विहान २ बजे जानकारी पाएको थियो । उक्त घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मृतकका छोरालाई नियन्त्रणमा लिएको थियो । हाल निजलाई प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

