
दाङ, १४ कात्तिक
दाङ जिल्लाको तुलसीपुरमा गत सोमबार खुट्टा छिनाल्ने गरि भएको अपराधिक घटनामा संलग्न भई पक्राउ परेका २ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० बस्ने २४ बर्षिय अमृत चौधरी र वडा नम्वर १६ बस्ने २२ बर्षिय पवन चौधरीलाई सार्वजनिक गरेको हो ।
प्राप्त जानकारी अनुसार गत सोमबार दशै टिकाका दिन राती करिब ९:४५ बजे तिर उनीहरुले भान्जाको विवाह भोज खाएर घर तर्फ फर्कदै गरेका तुलसीपुर उप-महानगरपालिका वडा नं. ११ नवलपुर निबासी ४५ वर्षिय कुमार विकमाथी तुलसीपुरको गोलौरामा धारिलो हतियारले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट वि.क.को बायाँ खुट्टा काटिनुका साथै हात र ढाडमा गम्भीर चोट लागेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपितहरुले प्रहरीको प्रारम्भिक अनुसन्धानमै प्रहरी सामु अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

