आठवटा सूर्यबाट एकैचोटि कति ऊर्जा निस्किएला? अनुमान गर्नुहोस् त!
सात अर्ब वर्षअघि ब्रह्माण्डमा दुईवटा ब्ल्याक होल (अर्थात् कृष्णगर्त) को विलय हुँदा गुरुत्वीय तरङ्ग फैलियो। त्यो घटनालाई अहिलेसम्म थाहा पाइएको ब्ल्याक होलहरूको सर्वाधिक ठूलो विलय मानिएको छ।
गत वर्ष बल्ल उक्त खगोलीय घटनाको सङ्केत पृथ्वीमा आइपुग्यो। मे २०१९ मा अमेरिका र इटलीमा जडित लेजर डिटेक्टरहरूले त्यसको सङ्केत प्राप्त गरे।
ती दुई ब्ल्याक होल एकीकृत भएपछि त्यसको पिण्डमान १४२ वटा सूर्यको जति भएको थियो।
यो उल्लेखनीय कुरा हो। विज्ञानले लामो समयदेखि आकाशमा ब्ल्याक होलको अस्तित्व पत्ता लगाउँदै आएको छ। तीमध्ये कुनै साना र कुनै धेरै ठूला छन्।
तर अहिले यो कुरा पत्ता लागेपछि १०० देखि १,००० सोलर मास अर्थात् सौर्य पिण्डमान भएका मध्यम आकारका ब्ल्याक होलहरूको छुट्टै श्रेणी स्थापित भएको छ।
गुरुत्वीय तरङ्ग पत्ता लगाउन अमेरिका र युरोपमा जडित तीनवटा प्रणालीहरूको अन्तर्राष्ट्रिय सहकार्य लिगो-भर्गोले यस विषयको अध्ययन र विश्लेषण गरेको छ।
ब्ल्याक होल के हो?
- ब्ल्याक होल अर्थात् कृष्णगर्त अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ सबै पदार्थ आफैँ विलीन हुन्छ
- त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि कुनै पनि वस्तु वा प्रकाश बाहिर निस्किन सक्दैन
- केही ठूला ताराहरू विस्फोटन भएर मृत भएपछि ब्ल्याक होलको उत्पत्ति हुन्छ
- केही ब्ल्याक होल यति स्थूलकाय हुन्छन् कि तिनको पिण्ड हाम्रो सूर्यको भन्दा अर्बौँ गुना बढी हुन्छ
- ती कसरी आकाशगङ्गाको बीचमा बन्छन् भन्ने थाहा हुन सकेको छैन
- तिनले आफूवरिपरि पार्ने प्रभावका आधारमा ब्ल्याक होल पत्ता लगाउने गरिएको छ
- तिनले एकअर्कालाई परिक्रमा गर्दा गुरुत्वीय तरङ्गहरू उत्पन्न हुन्छन्
लिगो-भर्गोका लेजर इन्टर्फेरोमिटर उपकरणहरूले महाप्रलयकारी खगोलीय घटनाहरू हुँदा उत्पन्न भएका कम्पनहरू पत्ता लगाउँछन्। गत वर्ष मे २१ मा ती सबै उपकरणमा एकै चोटि छोटो अवधिका लागि एउटा बलियो सङ्केत आइपुग्यो। अर्थात् एक सेकेन्डलाई १० भाग लगाउँदा एक भाग जतिको अवधिका लागि।
कम्प्युटर एल्गोरिदमहरूले त्यो सङ्केत एकअर्कालाई फन्को मार्दै गरेका दुईवटा ब्ल्याक होलको अन्तिम अवस्थामा उत्पन्न भएको निर्क्योल गरे। तीमध्ये एउटा ब्ल्याक होलको पिण्डमान सूर्यको भन्दा ६६ गुना र अर्कोको ८५ गुना भएको मानिएको छ।
अहिले गणना गर्दा ती दुई ब्ल्याक होल एकअर्कामा विलय भएको दूरी १५०,०००,०००,००० खर्ब किलोमिटर निस्किएको छ।
“यो वास्तवमै अद्भुत छ,” फ्रान्सस्थित कोट डाज्युर वेधशालाका प्राध्यापक नेल्सन क्रिस्टेन्सनले भने।
“यो सङ्केत सात अर्ब वर्ष प्रसारित भयो। यो घटना ब्रह्माण्डको ‘ठिक मध्यान्तरअघि’ भयो। अनि त्यसले अहिले पृथ्वीमा हाम्रा उपकरणलाई हल्लाइदियो,” आजको बिबिसी.कम ले छापेको छ ।

