
भरतपुर । कोरोना सङ्क्रमित बिरामीका लागि आयुर्वेद उपचार पद्धति प्रभावकारी बन्दै गएको यस क्षेत्रका चिकित्सकहरुले दाबी गरेका छन् । आफूहरुको प्रत्यक्ष संलग्नतामा भएको आयुर्वेद उपचारले सकारात्मक प्रभाव पारेको उनीहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘आयुर्वेद उपचार विधिबाट बढीमा १४ दिनमा सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।’
कोरोना सङ्क्रमण बढ्दै गएपछि आयुर्वेदिक जडीबुटीतर्फ ध्यान खिचिएको चिकित्सकको भनाइ छ । शरीरमा प्रतिरोधी क्षमता बढाउने अश्वगन्धा, तुलसी, गुर्जो, मुलेचीजस्ता जडीबुटी क्वारेन्टाइन र आइसोलेसनमा प्रयोग हुने गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चितवनकी प्रमुख डा. कोपिला अधिकारीले आयुर्वेद उपचारप्रति कम जानकारी भएकाले खासै प्रभावकारी नभएकोमा हाल कोरोनाको समयमा भने यसको प्रभावकारिता राम्रो देखिएकाले सेवा लिनेहरु बढेको बताइन् । कोरोना सङ्क्रमितमा शारीरिक तथा मानसिक समस्या हुने गरेकाले यसबाट मुक्ति पाउनका लागि यो उपचार विधि उपयुक्त बनेको उनले बताइन् ।
‘उपचारसँगै सकारात्मक सोचको विकासमा पनि हामी लागिपरेका छौँ’, डा. अधिकारीले भनिन्, ‘आहार, व्यवहार, योग, प्रणायाम, मनोसामाजिक परामर्श जारी रहेको छ । सङ्क्रमितहरुका लागि केन्द्रले औषधि व्यवस्था गरेको छ ।’
प्रतिरोधी क्षमता बढाउने अश्वगन्धा, तुलसी, गुर्जो, मुलेचीजस्ता जडीबुटी प्रयोग भएको डा. कोपिला अधिकारीले बताइन् । जडीबुटीको प्रयोग प्रभावकारी भएपछि स्वास्थ्यकेन्द्रमा यसको माग बढेको उनले बताइन् । सेवा लिन आउनेहरु पनि बढेका छन् । उपचार र रायसुझावका लागि आउनेहरु निकै बढेको उनले बताइन् । ‘घरमै जडीबुटी हुनेहरुले फोनमार्फत सल्लाह लिने गरेका छन्’, उनले भनिन्, ‘कतिपय मानिसहरु कार्यालयमै सुझाव लिन आइपुग्छन् ।’
‘जडीबुटीको मह¤व सधैँ थियो, बजारमा आधुनिक उपचार पद्धति आएपछि यो ओझेलमा परेको मात्र हो’, उनले भनिन्, ‘कोरोनाले पुनः एकपटक परम्परागत उपचार विधिको मह¤वबारे सबैलाई जानकारी गराएको छ ।’ जडीबुटीको पनि मात्रा मिलाएर प्रयोग उपयुक्त हुने उनको सुझाव छ । कोरोना भएको बेलामा मात्र होइन, अरु रोग र अन्य समयमा पनि जडीबुटीको प्रयोग गर्नु आवश्यक छ ।
हालसम्म सङ्क्रमणका लागि ठोस औषधि वा खोप उपलब्ध नभएकाले चिकित्सकहरुले तातोपानी, बेसार, गुर्जो, अदुवाजस्ता घरेलु जडीबुटी खान सल्लाह दिइरहेका छन् । गुर्जो, मरीच, अदुवाजस्ता जडीबुटी प्रतिरोधी क्षमता बढाउन प्रयोग हुने उनले बताइन् ।
घर फर्कंदै सङ्क्रमित
आयुर्वेद उपचार विधिबाट उपचार भई सङ्क्रमितहरु भरतपुर वागेश्वरीस्थित योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयबाट घर फर्किएका छन् । हालसम्म ७० जना घर फर्किएका छन् । यहाँ कोरोना सङ्क्रमित उपचार केन्द्र थालिएको १ महिनामात्रै भएको छ । ‘कोरोना सङ्क्रमित भई भित्र बस्दा कुनै अप्ठेरो महसुस भएन’, सङ्क्रमित सम्झना प्रजाले भनिन्, ‘झनै नयाँ–नयाँ कुराहरु थाहा पाइयो ।’ चितवनपोस्ट बाट।

