
काठमाण्डौं, २८ भाद्र
सरकारले नयाँ कानुनमा तेजाब आक्रमण गर्नेलाई कडा कारवाही गर्न नयाँ कानुन बनाउने भएको छ।
कानुन आयोगमा आज भएको छलफलका क्रममा तेजाब आक्रमण गर्नेलाई कम्तिमा २० वर्षको जेल सजाय गर्नेबारे छलफल भएको हो।
तेजाब आक्रमणमा परी घाइते भएमा २० वर्ष सजाय र पीडितको मृत्यु भएमा आजीवन काराबास सजाय व्यवस्था गर्नेबारे छलफल भएको हो।
अब बन्ने कानुनमा यो वा त्यो भन्ने व्यवस्था नराख्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन्।
कानुन आयोगमा सुझाव दिन पुगेका तेजाब आक्रमण विरुद्धका अभियन्ता उज्वलविक्रम थापाले कम्तिमा २० वर्षको जेल सजायको व्यवस्था गर्नेबारे छलफल भएको बताए। उनले भने, ‘मृत्युदण्डको व्यवस्था गर्न नसक्दा कम्तिमा २० वर्षको सजाय हुनुपर्नेमा हाम्रो पनि माग हो। यो विषयमा सहमति जुटेको छ।’
तेजाब बिक्री वितरणमा समेत कडाई गर्न कानुनी व्यवस्था गरिने भएको छ। त्यसका लागि तेजाब किन्नका लागि समेत पर्याप्त आधार चाहिने, तेजाबको बोतलको रंग छुट्टै बनाउने विषयमा पनि छलफल भएको छ।
तेजाब आक्रमण बढ्दै गएपछि गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तेजाव आक्रमणबाट पीडित भएकाहरुसँग छलफल गरेका थिए। सो छलफलमा कडा कानुन बनाउन माग भएपछि प्रधानमन्त्री ओलीले १५ दिनभित्र नयाँ कानुनको प्रस्ताव ल्याउन कानुनमन्त्रीलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री ओलीको यो सक्रियताले पीडितहरु खुशी भएका छन्। कानुनको फितलोपनको फाइदा उठाउँदै अपराधीहर छिटो छुट्ने, आक्रमण दोहोरिरहने गरेकाले कानुनी कडाई गर्न लागिएको हो।
तेजाब आक्रमणविरुद्ध सशक्त आवाज उठाउँदै आएका अभियन्ता थापाले कडा कानुन बनाउनुपर्ने भन्दै विगत छ वर्षदेखि तेजाब आक्रमणमा परेकाहरुको उपचार, कानुनी परामर्शका लागि सहयोग गर्दै आएका थिए। प्रधानमन्त्री ओलीको यो सक्रियतासँगै अभियन्ता थापा खुशी भएका छन्।
स्रोतः नागरिक खबर

