रगत संकलन गर्न एनआरएनको “घुम्ती रगत बस परियोजना” संचालन हुने

  • ११ भाद्र २०७७, बिहीबार १७:४६ मा प्रकाशित
  • एनआरएनको घुम्ती रगत बस परियोजना बारे गैरआवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसंग सहकार्य गरि मौसम प्रतिकुलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत बस परियोजना” ( Mobile Blood Bus Project) संचालन गर्न लागेको छ । यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत गर्ने बताइएको छ ।

    यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बस बनाउनको लागि सम्झौता भई सकेको छ । यही अक्टोबरमा क्षेत्रीय रक्तसंचार सेवा भरतपुरलाई हस्तानतरण हुने छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गरिदिन हुनको लागि हार्दिक अनुरोध पनि गरेको छ ।

    नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्याउदै आएको छ । नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रिय रक्तसंचार सेवा चितवनले गरेको छ । हाल, रगतको मांग बढे पनि आपूर्ति बढेको छैन । धेरै गर्मि र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसले गर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने र रगत नपाएर काठमाडौँ गई रक्तसंचार सेवा लिनु पर्ने अवस्था छ ।

    नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रतिको जिम्मेवारी पुरा गर्न धेरै गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत तथा प्राविधिक ज्ञान र शिपको लगानी गरेका छन् । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको छ ।

    गैरआवासीय नेपाली संघ को फेस्बुक पेजबाट

    Leave a Reply