उमेश कुशवाहा

बीरगंज साउन २६ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पर्साले आज प्रदर्शनमा उतरेको छ।
निषेधाज्ञा उलंघन गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पर्सामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ ।
प्रहरीले नेविसंघका विकास तिवारी, शेख हजरा र मनोज साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरी बीच झडप भएको थियो ।
नारायणी अस्पताललाई जनरल सेवा सुविधा सहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना महामारीका कारण कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने नेविसंघले माग गरेको छ ।
वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे माग राखेर धर्ना दिएको थियो ।
पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका समूहका तीन जनालाई नियन्त्रणमा लिएको बताए । निषेधाज्ञा उलंघन गर्दै ठूलो संख्यामा भेला भएकोले उनीहरुलाई तितर बितर बनाउन लाठीचार्ज पनि गरेको उनको भनाइ छ ।

