
कमिरेचौर, ३२ श्रावण
बंगलाचुलीको मुर्कुटीमा यस वर्ष ऋषि पञ्चमी मेला नलाग्ने भएको छ । प्रत्येक वर्ष बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा तीज पछिको पर्व ऋषि पञ्चमीमा मेला लाग्दै आएको थियो । विश्वभर महामारीको रुपमा रहेको कोभिड १९ को जोखिमलाई मध्यनजर राख्दै उक्त मेला नलगाउने निर्णय गरिएको वडा न.५ को कार्यालय मुर्कुटीले जनाएको छ ।
बंगलाचुली गापा वडा न. ५ को वडा कमिटीको बसेको बैठकले मेलाको आयोजना गर्दा जनस्वास्थ्यमा पर्न जाने जोखिमलाई मध्येनजर गर्दै परापुर्व कालदेखि चली आएको मेलालाई नलगाउने निर्णय गरेको बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्रीले बताउनु भयो ।
साथै उहाँले सो दिन कसैले पनि मेला भर्न र हेर्न नआई उक्त निर्णयको कार्यान्वयनमा सहयोग गर्न सम्पुर्ण ब्यापारी, ब्यवसायी, भक्तजन एवं सर्वसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्नु भएको छ ।
साथै उद्योग वाणिज्यसंघ बंगलाचुली शाखाले पनि वडा कार्यालयको निर्णयमा सहमति जनाउदै ऋषि पञ्चमिका दिन मेलामा नलगाउन सबै व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुक प्रसाद पुलामीले कोरोना भाईरसको जोखिम उच्च रहेको भन्दै उक्त अनुरोध गरिएको बताउनु भयो ।

