पूर्वी पहाडकै प्रतिष्ठाका रूपमा स्थापित धनकुटाको तल्लो टुँडिखेल यो वर्षको भारी वर्षाका कारण भासिएर भत्किएको छ ।
धनकुटा नगरपालिका– ५ स्थित करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको करोडौंको लगानीमा निर्माण भएको फुटबल मैदान वर्षाका कारण समस्यामा परेको हो । खेलमैदानको माथितिरबाट निर्माण भएको सडकमा राम्रोसँग ढल निर्माण नभई वर्षाको पानी पस्दा टुँडिखेल भासिएर क्षतविक्षत भएको हो । पूर्वी पहाडको सुबिधासम्पन्न फुटबल स्टेडियम निर्माण गर्न यसमा केन्द्र, प्रदेश र स्थानीय सरकारले करोडौं रूपैयाँ लगानी गरिसकेका छन् । तर, निर्माणको क्रममा कम्पनीहरू जिम्मेवार नहुँदा खेलमैदान क्षतविक्षत भई करोडौंको लगानी बालुवामा पानी भएको छ ।
टँुडिखेललाई स्तरीय र व्यवस्थित बनाउन हरेक वर्ष केही न केही भौतिक पूर्वाधारको काम भइरहेको हुन्छ । यस हिसाबले हेर्दा तीनै तहका सरकारले अहिलेसम्म करौडौं लगानी गरेर निर्माण गरेको भए पनि भरपर्दो र दिगो निर्माण नहुँदा दुर्दशा भोग्नुपरेको खेलकुद विकास समिति धनकुटाका प्रमुख नवीन प्रधानले बताए । त्यसै गरी टुँडिखेलको मञ्चअगाडि लगाएको मेसिनरी वाल दबेर खेलकुद विकास समितिको कार्यालय र मञ्च रहेको भवन जोखिममा परेको प्रमुख प्रधानले बताए । खेलमैदान निर्माणका लागि धनकुटा नगरपालिकाले आ.व.०७२/०७३ मा ४५ लाख, ०७३/०७४ मा ४७ लाख, ०७४/०७५ मा २६ लाख, प्रदेश सरकारबाट आ.व.०७५/०७६ मा ५० लाख, ०७६/०७७ मा ६० लाख गरी वर्षौंदेखि करोडाैं लगानी भएको पाइएको छ । यसअघि पनि लाखौं रूपयाँ यस खेलमैदानमा लगानी भइसकेको छ ।
यता खेलमैदानको पश्चिमपट्टि गोकुन्डे खोलाको साइडमा पहिरो गएका कारण खेलमैदान दबेको, प्यारापिट पूरै भासिएर लडेको, खेलमैदानको भित्तामा लगाइएको कम्पाउन्ड वाल पल्टिएर करोडौंको क्षति भएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए । प्यारापिटमा क्षति कम गर्नका लागि कम्पाउन्डदेखि भित्तामा रहेको सडकको ढल व्यवस्थित गर्न जरुरी रहेको स्थानीय हरिप्रसाद गुरागाईंले बताए । नागरिकन्युज बाट ।

